वरिष्ठ साहित्यकार उप्रेतीको ‘मेरा अतीतका कथाहरू’ आत्मवृतान्त लोकार्पण
रमेश हतुवाली/काठमाण्डू, २०८१ फागुन २६ गते सोमबार । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार गंगा प्रसाद उप्रेतीद्वारा लिखित मेरा अतीतका कथाहरु नामक आत्मवृतान्तको लोकापर्ण गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहबीच काठमाण्डू कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सो कृतिको लोकापर्ण गर्नुभएको हो ।
मकालु ग्रुप अफ कम्पनीद्वारा प्रकाशित सो पुस्तक लोकार्पण गर्दै उहाँले उप्रेती जस्तोसुकै परिस्थितिमा पनि देश र परिवर्तनप्रति निष्ठापूर्वक लागेका व्यक्ति भएकाले उहाँको कृति नयाँ पुस्तालाई जागरणका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
साहित्यकार उप्रेती आफ्नो पुख्यौली थलोका छिमेकी र राजनीतिक जीवनका जेल सहयात्रीसमेत भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशमा परिवर्तन र जनतालाई राम्रो हुनुपर्छ भनेर आफू कलेज छाडेर राजनीतिमा हिँडेको सुनाउनुभयो ।
उक्त पुस्तकबारे प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, पूर्वसदस्यसचिव प्रा. जगतप्रसाद उपाध्याय, नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्मालगायतले समीक्षा गर्नुभएको थियो ।

