Sat. Mar 29th, 2025 05:07:20

राससको सेवा विविधिकरण प्रशंसनीय छः राष्ट्रपति   

काठमाण्डू, २०८१ फागुन ७ गते बुधबार । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय समाचार समिति (रासस)ले पछिल्लो समय आफ्नो सेवामा विविधिकरण गरेकोमा प्रशंसा गर्नुभएको छ ।

राससको ६४औँ वार्षिकोत्सवका अवसरमा समितिका पदाधिकारी, पत्रकार, कर्मचारी, सेवाग्राही एवम् शुभेच्छुकहरूमा आज हार्दिक बधाई र शुभकामना व्यक्त गर्दै सत्यतथ्य, विश्वसनीय, आधिकारिक र भरपर्दो सूचना तथा समाचार आमजनतालाई शीघ्र प्रवाह गरी सुसूचित गराउने कार्यमा राससको दायित्व र भूमिका परिवर्तित सन्दर्भमा अझ बढ्दै गएको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले भन्नुभएको छ, “पछिल्लो समयमा विभिन्न भाषाभाषीका समाचार, विविध पुस्तक प्रकाशन, मिडिया सङ्ग्रहालय स्थापना, तालिम तथा पूर्वाधार विकास, २४सै घण्टा सेवासहित समाचार सेवाको विविधिकरणमा दिएको प्राथमिकता प्रशंसनीय छ ।”

राष्ट्रपतिले राससले छ दशकभन्दा बढी समयदेखि स्वदेश तथा विदेशमा सत्यतथ्य र विश्वसनीय समाचार सम्प्रेषणमा निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको समेत उल्लेख गर्नुभएको छ । राससले देश विदेशका फोटो, श्रव्य, श्रव्यदृश्य र नेपाली, अङ्ग्रेजीसहित विविध भाषाका समाचार सामग्री अनलाइन सेवामार्फत अहोरात्र आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँदै आउनु खुसीको विषय भएको उहाँको भनाइ छ ।

अभिव्यक्ति स्वतन्त्रतामात्र होइन स्वतन्त्र, निष्पक्ष र स्वतन्त्र पत्रकारिता तथा हरेक नागरिकको सूचनाको अधिकार बहुलवादमा आधारित लोकतन्त्रमा मात्र सम्भव रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनपछि मुलुकको एजेण्डा आर्थिक समृद्धि र विकास भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको अभिष्ट पनि यही हो, रासससहितका आमसञ्चार माध्यमले जनताको चाहनाअनुरुप शान्ति, लोकतन्त्रको सुदृढीकरण, दिगो विकास, समावेशी समाज र आर्थिक समृद्धिका लागि आ-आफ्नो क्षेत्रबाट अहम् भूमिका खेल्नेनै छन् भन्ने मैले विश्वास लिएको छु ।”

सूचना प्रविधिको नयाँ-नयाँ प्रयोग र विकाससँगै आमसञ्चार माध्यमको पहुँच तल्लो र सीमान्तकृत समुदायसम्म निर्वाध फैलदो रहेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले राज्यको चौथो अङ्गका रुपमा पत्रकारिता क्षेत्र र आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ ।

समाचारको विषयवस्तु, सञ्चार माध्यम र सूचना सम्प्रेषणका क्षेत्रमा देखिएको नविनतासँगै पत्रकारिता क्षेत्रका अगाडि चुनौती पनि थपिएको उल्लेख गर्दै उहाँले सूचना प्रवाहको माध्यम थपिदै गएको बताउनुभएको छ । राष्ट्रपति पौडेलले सामाजिक सञ्जालको प्रभाव बढेको बताउँदै यस्तो अवस्थामा मिथ्या सूचनाबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट सचेत रहँदै सही र तथ्यपरक सूचनामा नागरिकको पहुँच स्थापित गनुपर्ने मुख्य चुनौती खडा भइसकेको उल्लेख गर्नुभयो ।

“दक्ष जनशक्ति, आधुनिक स्रोत साधन र प्रविधिको अधिकतम उपयोग गरी आम पाठकको सूचना पाउने चाहना पूरा गर्न राससजस्ता आमसञ्चार माध्यमले सत्यतथ्य, आधिकारिक र विश्वसनीय सूचना सम्प्रेषणमा प्रभावकारी ढङ्गले काम गर्ने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभएको छ । रासस

Facebook Comments