Tue. May 26th, 2026

शिक्षा राष्ट्र निर्माण र विकास मूल खम्बा हुनुपर्छ : पूर्व राष्ट्रपति भण्डारी   

       

काठमाण्डू, २०८१ माघ २५ गते शुक्रबार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा राष्ट्र निर्माण र विकास मूल खम्बा हुनुुपर्ने बताउनुभएको छ । अरूणोदय माध्यामिक विद्यालयको ६०औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘अरूणोदय स्मारिक लोर्कापण’ कार्यक्रममा अबको शिक्षा राष्ट्रलाई आर्थिकरूपमा समृद्ध बनाई विकास गर्ने खालको हुनुपर्ने बताउनुभयो ।

“शिक्षालाई देशको विकास र राष्ट्रिय आवश्यकतासँग जोड्न जरूरी छ, शिक्षालाई मुलुक विकासको खम्बा बनाउनुपर्छ,” पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो, “सरकार स्थिर छ, यो बेलामा शिक्षा प्रणालीमा आमूल परिर्वतन गर्न जरूरी छ, जसले रोजगारीको खोजीमा भौतारिका युवालाई रोजगार दिन सकोस् ।”

नेपाली शिक्षाको देशको माटो, स्रोतसाधनको अधिकतम प्रयोग गर्ने खालको हुनुपर्ने र शिक्षामा अधिकत सूचना प्रविधिको प्रयोग गरी उत्पादनमा जोड्नुपर्ने उहाँको भनाइ थियो । अहिले नयाँ पुस्तालाई देशमा राख्नै कठिन भएको र विगतमा खचाखच हुने विद्यालय आजभोलि सुनसान हुने परिस्थिति देखा परेको उल्लेख गर्दै पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो, “समय परिर्वतन भएको छ, आन्तरिक बसाइँसराइ पनि बढ्दो छ, सूचना प्रविधिको अधिक विकास भएको छ, यो सबै हेरेर शिक्षा प्रणालीमा सुधार गर्नुपर्छ ।”

कार्यक्रममा अरूणोदय माध्यामिक विद्यालयमा पढी राष्ट्रको विभिन्न ओहोदामा रहेर काम गर्ने व्यक्तित्वहरू नेपाल सरकारका सचिव लोकराज पराजुली, फ्रान्सका लागि पूर्व नेपाली राजदूत दीपक अधिकारी, पूर्व अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकाल, उपसचिव योगेश पराजुलीलगायतलाई अरूणोदय गौरव सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले अरूणोदय स्मारिक लोर्कापण–२०८१ को लोकार्पण गर्नुभएको थियो । उक्त स्मारिकामा विद्यालयको स्थापना कालदेखि हालसम्मको इतिहास समेटिएको विद्यालयका प्रधानाध्यापक माधवप्रसाद पराजुलीले जानकारी दिनुभयो ।  रासस

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read