Sat. Nov 23rd, 2024

चीनद्वारा दरबार हाइस्कूलको पुनर्निर्मित भवन नेपाललाई हस्तान्तरण

काठमाडौं, २०७७ भदौं २४ गते बुधबार

चीन सरकारको सहयोगमा पुनःनिर्माण भएको नेपालको दरबार हाइस्कुलको भवन मंगलबार हस्तान्तरण भएको छ। गत माघ महिनामै निर्माण सम्पन्न भएको सो विद्यालय भवनको हस्तान्तरण प्रक्रिया कोभिड-१९ का कारण ढिलो भएको नेपाल समाज अनलाइनले लेखेको छ। चीनका तर्फबाट प्रोजेक्ट म्यानेजर मीनले विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वय गोपाल महर्जन र प्रभा बज्राचार्यलाई विद्यालय भवनको साँचो हस्तान्तरण गर्नु भएको छ। उक्त भवनमा भानु मावि र संस्कृत मावि सञ्चालित रहेकाले दुवै विद्यालय व्यवस्थापन समितिलाई साँचो हस्तान्तरण गरिएको बताइएको छ।

काठमाडौं महानगरपालिका-२७ रानीपोखरीको दक्षिणतर्फ साढे ९ रोपनी क्षेत्रफलमा रहेको विद्यालय भवन चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको हो। भवनको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्सट्रक्सनले लिएको थियो। रु ८५ करोडको लागतमा निर्माण गरिएको यो चार तले भव्य भवन ४० कक्षा कोठाको छ।

दरबार हाई स्कूलको एउटै भवनमा साधारण धारतर्फ भानु मावि र संस्कृत धारतर्फ संस्कृत मावि सुचारु रहँदै आएको छ। दुवै विद्यालय अलग अलग व्यवस्थापनमा सुचारु छन्। हाल ती दुवै विद्यालयमा गरी ३५० विद्यार्थी अध्ययनरत र ३५ शिक्षक कार्यरत छन्। भूकम्पले ध्वस्त बनेपछि प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको खाली स्थानमा अस्थायी कक्षा कोठा बनाएर पठनपाठन हुँदै आएको छ। निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सकिएको भए पनि कोभिड-१९ का कारण हस्तान्तरण हुन नसकेको बताउनुभयो।

विसं २०७२ मा गोरखा भूकम्पले पूर्णरुपमा क्षति पुर्‍याएको उक्त हाइस्कूल को पुनःनिर्माणको शिलान्यास २०७५ साल साउन १८ गते भएको थियो। विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो। विसं १९६४ मा सर्वसाधारणका छोराछोरीलाई संस्कृत पढ्नका लागि खुला गरिएको सो विद्यालयमा २०४८ सालदेखि अन्य विषय पनि पढाउने गरेका थिए। विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ। अहिले विद्यालय निर्माण गर्दा बाहिरी आवरण यसअघिको जस्तै देखिए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिएको बताइएको छ।

शुरुमा निर्माण गर्दा माटो, इँटा र सुर्खी र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो। पुरानो विद्यालय भए पनि पछिल्लो समय पहिले जतिको महत्व अहिले नभएको विद्यालयले स्वीकारेको छ। पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेका छन्।

लामो समय काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछिमात्रै यस विद्यालयको पुनःनिर्माणको काम शुरु भएको थियो। निर्माणको समयमा भएको सम्झौताअनुरुप निर्माण कम्पनीले शिक्षक र विद्यार्थीको प्रयोगका लागि ७५ वटा कम्प्युटर पनि दिएको बताइएको छ।

Facebook Comments