वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्नेलाई कडा कारवाही गर्न नेपाल बार एशोसिएशनको माग
- सहकारीको रकम हिनामिना प्रकरण
रमेश हतुवाली/काठमाण्डू, २०८१ माघ २ गते बुधबार । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आज काठमाण्डू जिल्ला अदालत परिसरमा भएको आक्रमणलाई गम्भिर रुपमा लिँदै दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।
एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले घटनाको समयमा काम विशेषले सोलुुखुम्बुमा पुगेको जानकारी दिँदै काठमाण्डू जिल्ला अदालतबाट बहस पैरबी सकेर फर्कनु भएका वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको खबर प्राप्त भएको भन्दै दोषी माथि कडा कारवाहीको माग गर्नु भएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष घिमिरेले “आफ्नो कानूनी कर्तव्य गर्दाको अबस्थामा कानून व्यवसायी उपर अदालत परिसरमा भएको आक्रमणको घोर भ्रत्सना गर्दै दोषी उपर कडा कार्वाही को माग गर्दछु” भनि लेख्नु भएको छ ।
यसैगरी काठमाण्डू जिल्ला बार एशोसिएशन र विशेष अदालत बार एशोसिएशन काठमाण्डूले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको भत्र्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग राखेका छन् । आज जारी विज्ञप्तिमा दुवै बार एशोसिएशनले मुद्धामा प्रतिनिधित्व गरेकै आधारमा आक्रमण गर्नु उन्नत लोकतान्त्रिक चरित्र विपरितको आपराधिक कार्य हो भनेका छन् । दुवै बार एशोसिएशनले कानून व्यवसायीमाथिको आक्रमण समग्र कानून व्यवसायी र सिंगो न्याय प्रशासनमाथिको आक्रमण भएकाले घटनामा सम्लग्न व्यक्तिहरुको पहिचान गरी अविलम्व पक्राउ गरी कानून बमोेजिम कारवाही गर्न माग गरेका छन् ।
काठमाण्डू कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीका तर्फबाट प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेसमेत जोडिएको मुद्दामा सहकारीका पीडितको पक्षबाट बहस गरेर फर्किँदै गर्दा आज जिल्ला अदालत काठमाण्डू परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि केही व्यक्तिहरुले हातपात र लछारपछार गरेका हुन् ।