Sun. May 19th, 2024

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा ८ दिनमा १८ उडानलाई अनुमति

- ‘काठमाडौंमा बढ्दो कोरोना संक्रमणको कारण देखाउदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्वारेन्टाइनको अभाव देखिएमा जुनसुकैबेला पनि यो तालिका पनि स्थगन हुन सक्ने जनाएको छ’

काठमाडौं, २०७७ भदौं ८ गते सोमबार

होटल क्‍वारेन्टाइनको अभाव देखाउँदै गएको मंगलबार स्थगन गरिएको पाँचौं चरणको ४० वटा मध्ये १८ वटा उद्धार उडान हुने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार ८ दिनका लागि १८ वटा उडानलाई अनुमति दिएको सूचना जारी गरेको छ ।

नयाँ तालिका अनुसार, विदेशी वायुसेवाले मंगलबारदेखि नै उद्धार उडान गर्दै छन् भने नेपाली वायुसेवा कम्पनीहरु हिमालय एयरलायन्स र नेपाल वायुसेवा निगमले बिहीबारदेखि उद्धार उडान थाल्ने छन् ।

मन्त्रालयले नेपाल वायुसेवा निगमलाई रियाद, क्‍वालालम्पुर, दुबई, कतार र कुवेतबाट नेपाली नागरिकहरु उद्धार गर्न अनुमति दिएको छ । त्यस्तै हिमालय एयरलायन्सलाई दमाम, क्‍वाललम्पुर, आबुधाबी र दोहाका लागि उडान गर्न अनुमति दिएको छ ।

त्यस्तै, ८ वटा विदेशी वायुसेवा कम्पनीलाई पनि नेपालीको उद्धार गर्न अनुमति दिइएको छ । जसअनुसार, एयर अरेबियालाई सारजाहा, इथिहादलाई आबुधाबी, फ्लाई दुबईलाई दुबई, टर्किस एयरलायन्सलाई इस्तानबुल, कतार एयरवेजलाई दोहा, सिल्क एयरलाई अष्ट्रेलिया, कोरियन एयरलाई कोरिया र मालिन्दो एयरलाई मलेसियाकालागि उडान अनुमति दिइएको छ ।

मन्त्रालयले काठमाडौंमा क्‍वारेन्टाइनको अभाव देखाउँदै युरोप र अमेरिकाबाट यात्रु ल्याउने टर्किस र कतार एयरवेजलाई प्रति उडानमा सय जना भन्दा बढी यात्रु नल्याउन सीमा तोकिदिएको छ । यस्तो सीमा पहिलोपटक जारी भएको हो ।

यो पटक जारी गरिएको तालिकाले अब सबै यात्रुको पीसीआर जाँच अनिवार्य भनेको छ । यसअघिका उद्धार तथा चार्टर उडानमा आरडीटी तथा यो सुविधा लिन मुस्किल भएका मुलुकबाट नेपालीहरु चिकित्सकहरुको नो-अब्जेक्सन पत्र बोकेर आउने गर्थे ।

‘बिहीबारको मन्त्रिपरिषद्को निर्णय अनुसार, शत प्रतिशत पीसीआर नेगेटिभ भएका यात्रु मात्रै ल्याउन पाइनेछ,’ एक सरकारी अधिकारीले भने, ‘पीसीआर जाँच गरेका र नगरेका यात्रु मिसाएर ल्याउन पनि पाइने छैन ।’ मिसाएर ल्याइएको पाइएमा वायुसेवा कम्पनीकै खर्चमा ७ दिन सबै यात्रुलाई होटल क्वारेन्टाइनमा राखिने नियम बनाइएको छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार, मध्यपूर्व लगायत विभिन्न मुलकमा अलपत्र परेका नेपालीका लागि यो अन्तिम चरणको उद्धार उडान हो ।

यो सकिएपछि भदौ १६ देखि नियमित उडान हुँदैछन् । मन्त्रालयले यो तालिकालाई साउन अन्तिम साता जारी गरिएको १५ दिनको ४३ वटा उडान तालिकालाई संशोधन तथा समायोजन गरिएको जनाएको छ । मन्त्रालयले काठमाडौंमा बढ्दो कोरोना संक्रमणको कारण देखाउदै क्वारेन्टाइनको अभाव देखिएमा जुनसुकैबेला पनि यो तालिका पनि स्थगन हुन सक्ने जनाएको छ भनि कान्तिपुर अनलाईनले समाचार लेखेको छ ।

Facebook Comments