Mon. Jan 13th, 2025

छैठौँ चिनिया भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न

चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमको छैठौँ श्रृंखला समापन समारोहमा सहभागीहरु । फोटो : डिल्लीरमण सुवेदी

भिओके समाचार/काठमाण्डू, २०८१ पुस १ गते सोमबार । पर्यटन व्यवसायीहरुका लागि काठमाण्डूमा आयोजित छ महिने चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमको छैठौँ श्रृंखला सम्पन्न भएको छ । नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले गत असारदेखि सुरु गरेको भाषा प्रशिक्षण मंसिरमा समापन भएको हो ।

भाषा कक्षा समापनको अवसरमा गत आज भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा भव्य समापन समारोहको आयोजना गरियो । परिषद्का अध्यक्ष डा. हरिश्चन्द्र साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा चिनियाँ राजदूताबासका डिसिएम वाङ सिङ, संस्कृति तथा पर्यटन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत ऐरलगायतको विशेष आतिथ्यता थियो ।

कार्यक्रममा भाषा प्रशिक्षार्थीहरुले चिनियाँ गीत, नृत्य र कम्फू प्रदर्शन गरेर सहभागीहरुलाई मनोरञ्जन गराए । प्रशिक्षणमा सहभागी ४० जना विद्यार्थीहरुलाई अतिथिहरुले प्रशिक्षण समापन गरेको प्रमाणपत्र पनि वितरण गर्नुभएको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पर्यटन मन्त्रालयका उपसचिव लामिछानेले चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमले नेपालको पर्यटन क्षेत्र र अन्य क्षेत्रको पनि विकासमा सहयोग पुग्ने बताउनुभयो । पर्यटन क्षेत्रका व्यवसायीहरुलाई मात्रै नभएर अन्य क्षेत्रका व्यक्तिहरुलाई पनि चिनियाँ भाषा प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्न उहाँले चिनियाँ राजदुताबासलाई आग्रह गर्नुभयो । नेपाल–चीन सम्बन्धलाई विस्तार गर्न पनि भाषा महत्वपूर्ण हुने उहाँको भनाइ छ । नेपालका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुले चिनियाँ नागरिकलाई आकर्षण गर्ने भन्दै उहाँले धेरै भन्दा धेरै प्रचारप्रसारको आवश्यकता रहेको औंल्याउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै डिसिएम वाङले सफलतापूर्वक भाषा प्रशिक्षण सम्पन्न गरेकोमा आयोजक, विद्यार्थी तथा स्वयंसेवी चिनियाँ भाषा प्रशिक्षकहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले आगामी वर्ष नेपाल-चीन दौत्य सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठ र नेपाल भ्रमण वर्ष पनि भएकोले त्यसलाई सदुपयोग गर्न प्रशिक्षित विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन बोर्डका वरिष्ठ निर्देशक ऐरले भाषा दुई देश जोड्ने पुल भएकोले विद्यार्थीलाई धेरै भन्दा धेरै सदुपयोग गर्न आग्रह गर्नुभयो । भाषा प्रशिक्षण कार्यक्रमको प्रभावकारिता उल्लेख गर्दै उहाँले काठमाण्डू मात्रै केन्द्रित नभई बाहिरका शहरहरुमा पनि आयोजना गर्न सुझाव दिनुभयो ।

भाषा प्रशिक्षण कार्यक्रमबाट विद्यार्थीले भाषा बोल्न, चिनियाँ अक्षर लेख्न र चिनियाँ संस्कृति बुझ्न सकेको परिषद्का अध्यक्ष डा. साहले बताउनुभयो । छ महिने भाषा प्रशिक्षण र एचएसके तेस्रो तहको परीक्षा पास गरेपछि नेपाली विद्यार्थीहरुलाई चिनियाँ विश्वविद्यालयको ढोका खुल्ने उहाँले जानकारी दिनुभयो । आगामी वर्षहरुमा पनि भाषा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिन चाहेको शाहले उल्लेख गर्नुभयो ।

नेपालस्थित चिनियाँ राजदूताबास, नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोगमा परिषद्ले चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । सन् २०१६ देखि सुरु भएको यस भाषा प्रशिक्षणबाट हालसम्म दुई सय विद्यार्थी प्रशिक्षित भइसकेको परिषद्का अध्यक्ष डा. शाहले जानकारी दिनुभयो ।

Facebook Comments