उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार, अत्याधुनिक अन्तरिक्ष प्रविधिका लागि प्योङयाङले रूससँग सहकार्य गरेको ब्लिन्केनको भनाइ
सियोल, २०८१ पुस २२ गते सोमबार । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणमा रहेकै समय उत्तर कोरियाले सोमबार क्षेप्यास्त्र परीक्षण गरेको छ । क्षेप्यास्त्र परीक्षणपछि उहाँले प्योङयाङले अत्याधुनिक अन्तरिक्ष प्रविधिका लागि रुससँग अझ नजिकबाट काम गरिरहेको बताउनुभएको छ ।
दक्षिण कोरियाले ‘मार्शल ल’ लागू गर्ने असफल प्रयासको लागि महाभियोग लगाइएपछि आफ्नो निवासमा थुनिएका कन्जरभेटिभ राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्ने प्रयास गरिरहेका बेला ब्लिन्केनको भ्रमण भएको हो ।
दक्षिण कोरियालाई जापानसँग सहयोग बढाउने युनको नीतिलाई कायम राख्न प्रोत्साहित गर्ने योजना बनाएका ब्लिन्केन सियोलमा वार्तामा रहेकै समय उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको र उक्त क्षेप्यास्त्र समुद्रमा खसेको थियो।
सोमबार प्रहरा गरिएको क्षेप्यास्त्र करिब एक हजार १०० किलोमिटर (६८० माइल) सम्म उडेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
एएफपीका अनुसार ब्लिन्केनले उत्तर कोरियाबारे त्रिपक्षीय अभ्यास र गुप्तचर आदानप्रदानमा वृद्धि भएको तर्फ सङ्केत गर्दै भन्नुभयो, “आजको प्रक्षेपणले हामी सबैलाई हाम्रो सहयोगात्मक कार्य कत्तिको महत्वपूर्ण छ भन्ने कुराको स्मरण गराएको छ ।”
ब्लिन्केन र उहाँका दक्षिण कोरियाली समकक्षी चो ताइ–युलले संयुक्त पत्रकार सम्मेलनमा उत्तर कोरियालाई युक्रेनविरुद्ध लड्न सहयोग गरेबापत रूसले उत्तर कोरियालाई सहयोग गरेको बताउनुभयो ।
ब्लिन्केनले भन्नुभयो, “उत्तर कोरियाले रूसी सैन्य उपकरणमा तालिम प्राप्त गरिसकेको छ । अब मस्कोले प्योङयाङसँग उन्नत अन्तरिक्ष र उपग्रह प्रविधि साझेदारी गर्न चाहेको भन्ने हामीसँग विश्वास गर्ने आधार बनेको छ ।”
संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को भिटो अधिकार प्राप्त सदस्य रूसले उत्तर कोरियालाई आणविक राष्ट्रका रूपमा औपचारिक रूपमा स्वीकार गर्ने र प्योङयाङले आफ्नो कार्यक्रम अन्त्य गर्नुपर्छ भन्ने विश्वव्यापी सहमतिलाई ठूलो धक्का लाग्ने चिन्ता ब्लिन्केनले व्यक्त गर्नुभयो ।
अमेरिकी र दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार उत्तर कोरियाले गत वर्षको अन्त्यतिर युक्रेनविरुद्ध लड्न हजारौं सैनिक पठाएको थियो र सयौँको मृत्यु भइसकेको छ ।
यसैबीच, जापानले उत्तर कोरियाली क्षेप्यास्त्र परिक्षणको विरोध गरेको छ । टोकियोमा प्रधानमन्त्री शिगेरु इशिबाले उत्तर कोरियाले रूससँगको सहकार्यमा ‘प्रविधिमा सुधार गर्दै गएको’ भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।