Tue. Mar 18th, 2025 03:13:11

राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ

काठमाडौं, २०७७ भदौं ३ गते बुधबार

म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्‍युरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गायक ग्याल्जोम दोर्जे तामाङ्गसहित भिडियोमा अभिनय गर्ने व्यक्तिलाई पक्राउ गरेको हो।

नेपाल प्रहरीका अनुसार राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त तामाङ्गसहित पक्राउ गरिएका ९ जनालाई कानुन बमोजिम कारबाही गरिने छ। दुई दिनअघि ‘देशद्रोही’ शीर्षकमा मंगोल हप अफिसियल युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो अपलोड भएको थियो। भिडियो  सार्वजनिक भएलगत्तै यसको तीव्र विरोध हुँदै आएको थियो।

अहिले पनि सामाजिक संजालमा भिडियो तथा तस्बिर भाइरल भएका छन्। गीतको सुटिङ भिडियोमा मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित विष्णु आधारभूत विद्यालयको प्रांगणमा भएको देखिएको छ। मुलुकी अपराध संहिता ऐन २०७४,को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख छ। अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments