अखिल क्रान्तिकारीमा नेतृत्वको रोचक भिडन्त
भिओके समाचार/काठमाण्डू, २०८१ पुस १७ गते बुधबार । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद कायम हुने भएपछि अध्यक्षमा दाबी गरिरहेका डेढ दर्जन उम्मेदवार बाहिरिएका छन् ।
यससँगै संगठनमा उपमहासचिवभन्दा माथिल्लो तहमा रहेका कोही पनि उम्मेदवार बन्न नपाउने भएका छन् । अखिल क्रान्तिकारीमा अब उपमहासचिव तह र त्यसभन्दा तल्लो वरीयतामा रहेका विद्यार्थी नेताहरू अध्यक्ष तथा अन्य पदाधिकारीमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।
यसअघि ३२ वर्षे उमेर हद लाग्ने कि नलाग्ने भन्ने विषयमा मतदान हुँदा उमेर हद लागु गर्नुपर्ने पक्षमा ९०० र उमेर हद लागू नगरी खुला प्रतिस्पर्धा गर्नुपर्ने पक्षमा ८७९ मत परेको थियो । पुस १३ गते शनिबार भएको निर्वाचनको आइतबार राति अबेर मात्रै मतपरिणाम सार्वजनिक गरिएको थियो ।
अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति चुन्दा उमेर हद लाग्ने कि नलाग्ने भन्ने विषयमा विवाद थियो । विवादका कारण गत असोज १० गतेदेखि काठमाण्डूको कीर्तिपुरमा आयोजित २३औँ राष्ट्रिय सम्मेलन नेतृत्व चयन नगरी स्थगित भएको थियो । विवादको छिनोफानो गर्न अखिल क्रान्तिकारीले लोकतान्त्रिक प्रक्रिया अपनाएको थियो ।
अब ३२ वर्षसम्मकाले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरु चुनिनेछ । नयाँ कार्यसमिति चयनका लागि आगामी माघ ५ गते मनोनयन दर्ता र माघ १२ गते निर्वाचन कार्यक्रम हुने प्रमुख निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानले जानकारी दिएका छन् ।
अब अखिल क्रान्तिकारीमा उमेर हद केन्द्रीय कमिटिमात्र नभइ सबै तहका कमिटीमा लागू हुनेछ । संगठनका फ्रयाक्सन इन्चार्ज हिमाल शर्माले केन्द्रदेखि प्रदेश र जिल्ला तहका कमिटीसम्म पनि अब ३२ वर्षे उमेर हद लागू हुने जानकारी दिनुभयो । साथै उहाँले इकाइ कमिटीमा भने यसअघि नै ३२ वर्षे उमेर हद लागू भइसकेको जानकारी दिनुभयो ।
अखिल क्रान्तिकारीको विधानमा २४३ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरिएको छ । पदाधिकारी ३३ जना रहने गरी बनाइएको विधानमा उपाध्यक्ष ९, महासचिव १, उपमहासचिव ९, सचिव १२, कोषाध्यक्ष १ रहने गरी प्रावधान बनाइएको छ ।
उमेर हद लागू हुँदा २२ औं सम्मेलनबाट निर्वाचित १७ उपाध्यक्षहरू इन्द्र भुसाल, नरेश रेग्मी, जीपी मैनाली, क्षितिज सापकोटा, केशव रावल, डा. अच्युत भट्ट, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, सूर्यनारायण साह, पवन कार्की, मदन भूल, मदन भट्टराई, नारायण खनाल, गजेन्द्र देवलगायत प्रतिस्पर्धाबाट बाहिरिनु हुनेछ । यस्तै, संगठनका निवर्तमान महासचिव दीपेश पुन पनि अब उम्मेदवार बन्न पाउने छैनन ।
निवर्तमान उपमहासचिव, सचिव र तल्लो वरियतामा रहेकाहरूको नयाँ कार्यसमितिको नेतृत्वमा दबदबा रहनेछ । नयाँ व्यवस्थासँगै संगठनको अध्यक्षमा यसअघि उपमहासचिब रहेका र ३२ वर्ष उमेर पार नगरेकाहरुबाट प्रवल दावी हुने देखिन्छ । उपउपमहासचिवहरु मध्ये तिर्सना हमाल, विश्वमणी थापा, योगेन्द्र बुढा बलियो दावेदार हुनुहुन्छ । त्यसैगरी निवर्तमान प्रदेश अध्यक्षहरु सुदिन पौडेल र हेमन्त राई पनि दावेदावर हुनुहुन्छ ।
अध्यक्षमा बलियो दावेदारी दिएका मध्ये कर्णाली प्रदेशको सिंजा घर भएकी तिर्सना हमाल यसअघि कर्णाली प्रदेशको इन्चार्ज तथा महिलाबाट अध्क्षयको एकल र बलिया दाबेदार हुनुहुन्छ । बिजनेस स्टडिजमा मध्यपश्चिम विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका हमाल सबैलाई समन्वय गर्न सक्ने र राम्रो सांगठनिक क्षमता भएको विद्यार्थीहरु बताउँनुुहुन्छ । उहाँकै नेतृत्वमा कर्णाली प्रदेशमा अखिल क्रान्तिकारीले यसअघि भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा प्रथम स्थान हासिल गरेको थियो ।
कर्णाली प्रदेशका सबै जिल्ला र प्रदेशको सम्मेलन गरेर यसअघि उमेर हद नलागेर सबै सिनियर नेताहरु प्रतिस्पर्धामा रहेकै बेला कीर्तिपुर सम्मेलनमा समेत उनले महासचिवको दावी गर्नुभएको थियो । राम्रो लेखनकला र सबैलाई मिलाएर लानसक्ने क्षमता भएकी तिर्सना हमाल माओवादी अध्यक्ष प्रचण्ड निकट मानिनुहुन्छ । उहाँलाई कर्णालीका उच्च तहका पार्टी नेताहरु सबै नेताहरुको पनि साथ छ । कर्णाली प्रदेश पार्टीका इन्चार्ज कालीबहादुर मल्ल, सहइन्चार्ज टेकबहादुर बस्नेत, प्रदेश अध्यक्ष बिमला केसी सबै जना यसपटक हमाललाई अध्यक्ष बनाउनुपर्ने पक्षमा हुनुहुन्छ । पार्टीका उपमहासचिब वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेतसहितका नेताहरुसँगै राम्रो भएकाले सबैले उहाँलाई सहयोग गर्ने विद्यार्थी नेताहरु बताउँछन् ।
त्यस्तै मधेश प्रदेशबाट पहिलो पटक अध्यक्षको दाबी गर्ने एकल दाबेदार विश्वमणी थापा हुनुहुन्छ । निवर्तमान कमिटीमा उपमहासचिब रहेका थापा बिद्रोही स्वभाबका र राम्रो वाककला भएका उम्मेदवार हुनुुहुन्छ । उहाँ आफु र आफ्नो प्रदेसले आजसम्म संगठनमा कार्यकारी नेतृत्व नपाएकोले यसपटक आफूले पाउनुपर्ने बताउँनुहुन्छ । यसपटक मधेश प्रदेशले केन्द्रीय नेतृत्व पाउनेमा आफू विस्वस्थ रहेको थापा बताउनुहन्छ । उहाँ आफूलाई उपाध्यक्ष पम्फा भुसाल र उपमहासचिव जनार्दन शर्मा निकट बताउनुहुन्छ । साथै पार्टीका अरु नेताहरुले पनि सहयोग गर्ने उहाँ बताउनुहुन्छ ।
त्यस्तै कर्णाली प्रदेशबाट नै प्रतिनिधित्व गर्ने अर्का उपमहासचिब योगेन्द बुढा पनि अध्यक्षका दावेदार हुनुहुन्छ । बुढालाई पूर्व सभामुख कृष्ण बहादुर महरा निकट बताइन्छ् । उहाँ पनि आफूले अध्यक्ष पाउनुपर्ने दावी गर्दै आउनु भएको छ।
त्यसैगरी गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष सुदिन पौडेल र एक नम्बर प्रदेशका निवर्तमान अध्यक्ष हेमन्त राई पनि अध्यक्ष दाबेदार हुनुहुन्छ । उहाँहरु दुबै जना पूर्व मन्त्री सुदन किराती निकट मानिनुहुन्छ । पूर्वी क्षेत्रबाट नेतृत्व पाउने स्थिति भएमा उहाँहरुमध्ये एक जनाले पाउने बताइन्छ ।
अध्यक्षमा यसभन्दा तल्लो तहमा रहेका अरु धेरैले दावी गरे पनि केन्द्रीय पदाधिकारीमा रहेर अनुभव हासिल गरेका र प्रदेश तथा जिल्लाको नेतृत्व समेत गरेर आइसकेकाहरुले नै नेतृत्व पाउने सम्भावना देखिन्छ । उपमाहासचिब भन्दा तल्लो बरियताका नेताहरुले अध्यक्षको दावी गरे पनि उनीहरु अध्यक्ष बाहेकको पोस्टमा सुनिश्चित हुनका लागि चर्चा चलाएको केही नेताहरु बताउँछन् ।
अहिले धेरैले दावी गरे पनि अन्तिममा २ देखि ३ जना मात्रै उम्मेदवारहरु रहने र देशव्यापी खुल्ला निर्वाचनबाट चुनिने अखिल क्रान्तिकारीका नेताहरु बताउँछन् । केहीले बार्गेनिङ गर्न र केहीले चर्चामा आउनका निम्ति दाबी गरेको बताइन्छ । जे भए पनि यसपटक अखिल क्रान्तिकारीको नेतृत्व चयन प्रक्रिया निकै रोचक बन्ने देखिन्छ ।