Sun. Dec 29th, 2024

स्थानीय स्रोत र साधनमा आधारित उद्यमशीलतामा जोड दिन आवश्यक   

पाटन (ललितपुर), २०८१ पुस १३ गते शनिबार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्थानीय स्रोत र साधनमा आधारित उद्यमशीलतामार्फत रोजगारी वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली उद्यम उत्पादनको बृहत् प्रदर्शनी तथा व्यापार मेला २०८१ को उद्घाटनका क्रममा उहाँले स्वदेशी उत्पादन बढाउने अभियान कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । “नेपालको उत्पादन बढाउन राष्ट्रिय अभियानका साथ अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोगसम्बन्धी कार्यविधि, २०८१ पारित भई राजपत्रमा प्रकाशनको तयारीमा रहेको जानकारी दिँदै राजपत्रमा प्रकाशनलगत्तै कार्यान्वयनमा आउने समेत बताउनुभयो ।

“मेक इन नेपाल र मेड इन नेपाल सरकारको प्राथमिकतामा छ, सरकारले दिने पोशाक भत्ताबाट नेपाली उत्पादनको उपयोग हुने नीति लिइएको छ”, उहाँले भन्नुभयो, “स्टार्टअप नीति गत वर्षदेखि लागू भएको छ, यस वर्ष नवीन सोचमा आधारित रहेर पेस भएका अवधारणालाई रु एक अर्ब न्यूनतम ब्याजदरमा लगानी गर्ने तयारी अन्तिम तयारी छ ।” उहाँले स्वदेशी वस्तु प्रयोगसम्बन्धि कार्यविधि लागू हुँदा धेरै क्षेत्रमा रोजगारी सृजना गर्न सकिने धारणा राख्नुभयो ।

राससका अनुसार   मन्त्री भण्डारीले १० दिनसम्म सञ्चालन हुने मेलाले ‘मेरो देश मेरो उत्पादन’को सान्दर्भिकतालाई टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मेलामार्फत उत्पादनको बजारीकरण भई आर्थिक लाभ हासिल हुनुका साथै रोजगारीको सृजना हुने र घरेलुु तथा साना उद्योगको प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो ।

बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले उद्यमी घरको यो प्रयत्न साना तथा घरेलुु उद्योगका लागि महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले यस्ता मेलालाई देशव्यापी रुपमा विकास र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पैँतीसौँ कला नगरीमा भएको साना तथा घरेलुु उत्पादनको यो मेला ठूलो काम भएको बताउनुभयो । उहाँले स्वदेशी उत्पादन प्रोत्साहन गर्न मन्त्रालयले बनाएको निर्देशिकाले आर्थिक समृद्धि हासिलका लागि उल्लेख्य काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले एकै ठाउँमा नेपालभरका उत्पादन स्वदेशी तथा विदेशी ग्राहकलाई उपलब्ध गराउने काम गरेकामा उद्यमी घरलाई आभार व्यक्त गर्नुभयो ।

“उद्यमी घरले नेपालमा नै रोजगारीको अवसर सृजनामा महत्त्वपूर्ण काम गरेको छ, २०६७ सालमा नै स्वदेशी वस्तु उपयोग तथा खरिद नीति आए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको थियोे, अहिले मन्त्रालयले स्वदेशी उत्पादनको प्रयोग गरेर हौसला बढाउने काम गरेको छ”, उहाँले भन्नुभयो ।

ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले घरेलु उद्यमबाट उत्पादित सामान सङ्कलन गरेर सहज रुपमा निर्यात गर्न र नेपालभित्र उपयोगको अवसर सृजना गरेर राम्रो काम गरेको बताउनुभयो । उहाँले यो मेलाले ठोस काम गर्न सकोस् भन्दै निर्यातलाई टेवा पु¥याउँदै विदेशी मुद्रा आर्जनमा अझै सफलता मिल्नेमा विश्वास व्यक्त गर्नुभयो ।

उद्यमी घरका सञ्चालक दीपक कार्कीले नेपाली कला संस्कृतिको प्रवद्र्धनका साथै देशैभरका उद्यमीहरुको उत्पादनलाई प्रवद्र्धन गरी रोजगारीको अवसर सृजना गर्ने काम गर्दै आएको जानकारी गराउनुभयो ।

उद्यमी घरमा आजदेखि सुरु भएको मेला पुस २२ गतेसम्म सञ्चालन हुने उद्यमी घरका सञ्चालक शोभा घिमिरेले जानकारी गराउनुभयो ।

Facebook Comments