Tue. Apr 30th, 2024

दाहाल-नेपाल समूहका लगातार भेला, ओलीमाथि दबाब बढाउने रणनीति

काठमाडौं, २०७७ साउन २९ गते बिहीबार

आफूहरुले उठाएका मागलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सिधै अस्वीकार गरेको निष्कर्षमा पुगेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह ओलीमाथि दबाब बनाउने रणनीतिमा जुटेका छन् । ओली समूहमाथि दबाब बनाउने रणनीतिअनुसार दाहाल-नेपाल समूह आफू निकट नेता–कार्यकर्तासँग लगातार छलफलमा छ ।

साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच भएको छलफल सकारात्मक नभएपछि दाहाल-नेपाल समूहले दबाबको रणनीति अंगीकार गरेका हुन् । यद्यपि नौ दिनपछि बिहीबार भेटवार्ता गरेका नेकपाका अध्यक्षद्वय ओली र दाहालले पार्टीको पछिल्लो विवाद सुल्झाउने गरी सकारात्मक छलफल भएको यी नेताका सचिवालयको दाबी छ ।

ओली र दाहालबीच संवाह रोकिएलगत्तै दाहाल-नेपाल समूहले आफ्ना निकट नेता कार्यकर्तासँग छलफल थालेका थिए । यस्ता छलफलको मुख्य उद्देश्य ओली र उनको समूहमाथि सहमतिका लागि दबाब बनाउनु नै रहेको दाहाल-नेपाल समूहमा रहेका एक नेताले बताए । ओली समूहसँग ठोस सहमति नभएसम्म यस्ता छलफल जारी रहने ती नेताको भनाइ थियो ।

ओलीले पार्टी विभाजन गर्ने गरी गतिविधि गरेको आरोप लगाउँदै आएको दाहाल-नेपाल समूह आफैं पछिल्लो समय गुटगत सक्रियतामा देखिएको हो । यही सिलसिलामा पछिल्लो पटक यो समूहले बिहीबार प्रदेश ५ का केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् ।

अध्यक्ष दाहाल, वरिष्ठ नेता खनाल, वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले काठमाडौंमा उपलब्ध प्रदेश ५ का आफू निकट केन्द्रीय सदस्यहरुसँग छलफल गरेका हुन् । स्थायी कमिटी सदस्य घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, देव गुरूङ, गोकर्ण विष्टलगायतका नेता पनि भेलामा सहभागी थिए ।

छलफलमा नेताहरुले पार्टीको पछिल्लो विवाद र अबस्थाका साथै सम्भावित कदमबारे ब्रिफिङ गरेको र केन्द्रीय सदस्यहरुले सुझाव दिएको एक सदस्यले बताए । अध्यक्ष दाहालले अहिलेको लडाइँ पदका लागि नभएको कुरा दोहोर्‍याएका थिए । उनले विधि, पद्धति, विचार, कार्यदिशाको लडाइँ भएको बताएका थिए ।

अन्य नेताहरुले पनि ओलीको व्यक्तिवादी प्रवृत्तिका कारण सरकार र पार्टीमा समस्या पैदा भएको भन्दै असन्तुष्टि पोखेका थिए । उनीहरुले ओलीको रुपान्तरणका लागि अहिलेको लडाइँ भएको बताएका थिए । ती सदस्यका अनुसार सकेसम्म पार्टी विभाजनको विकल्पमा जानेबारे कुनै कदम नचाल्न केन्द्रीय सदस्यहरुले सुझाव दिएका थिए ।

दाहाल नेपाल-समूहले बुधबार गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गर्दै उनीहरुका सुझाव संकलन गरेका थिए । प्रधानमन्त्री ओलीले पार्टीको नीति र विधि मान्न तयार हुदै कार्यशैलीमा सुधार गर्नुपर्ने गडकी प्रदेशका नेकपाका केन्द्रीय सदस्यहरुको धारणा थियो । त्यसअघि साउन २१ मा नेकपाका चार नेताले पत्रकारसँग छलफल गरेका थिए । छलफलमा दाहालले सकेसम्म राम्रोका लागि काम गर्ने र नभए खराब परिस्थितिका लागि पनि मानसिकरुपमा तयार हुनुपर्ने बेला आएको बताएका थिए ।

ओलीले मदन भण्डारी फाउन्डेशनका नामबाट विभिन्न जिल्लाहरुमा भेला, बैठक र कमिटी निर्माणका गतिविधि भइरहेको यो समूहको दाबी छ ।

यो समूहले पत्रकारसँग अन्तक्रिया गरेपछि त्यसै दिन हुने भनेको दाहालसँगको भेट ओलीले टारेका थिए ।

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो । पछिल्लो छलफलमा कुन कमिटीबाट विवाद हल खोज्ने भन्नेमा दुई पक्षबीच नयाँ विवाद थपिएको थियो । प्रधानमन्त्री ओली सचिवालय बैठकमा भएपछि मात्रै स्थायी कमिटी बस्‍‍नुपर्ने अडान थिए ।

अध्यक्ष दाहाल स्थगित स्थायी कमिटी बैठक सुचारु गर्ने र केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने अडानमा बसेपछि त्यसयता दुई अध्यक्षबीच थप संवाद हुन सकेको थिएन । यसबाहेक प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने दाहाल–नेपाल समूहको माग छ । यो समूहबाट उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा भने पन्छिएका छन् ।

दुवै पद नछाड्ने ओलीको अडान छ । स्थगित स्थायी कमिटी सुचारु गर्ने विषयमा पनि उनीहरुबीच मतभेद छ । एक सय ५२ केन्द्रीय सदस्यले लिखित मात्र गरे पनि केन्द्रीय कमिटीको बैठक अनिश्चित छ । बुधबारमात्रै एक टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले ५ दिनभित्र पार्टी विवाद हल हुने दाबी गरेका थिए । कान्तिपुर अनलाईनबाट

Facebook Comments