Thu. Dec 19th, 2024

बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने विज्ञहरुको भनाइ

महेश भट्टराई/ विराटनगर, २०८१ पुस ३ गते बुधबार । चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् ।

फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टले आज विराटनगरमा आयोजना गरेको “नेपाल–चीन साँस्कृतिक तथा आर्थिक सम्बन्ध” विगतदेखि वर्तमानसम्म विषयक अन्तरक्रियामा बोल्दै राजनीतिज्ञहरुले सो विचार व्यक्त गरेका हुन् ।

होटल इस्टर्न स्टारमा आयोजित एक दिने अन्तरक्रियामा प्रमुख अतिथीको आसनबाट बोल्नुहुँदै कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले बीआरआईलाई कुनै पनि वहानामा विवादीत बनाउन नहुने बताउनुभयो । नेपाल र चीनबीचको साँस्कृतिक तथा आर्थिक सम्बन्ध अत्यन्त पुरानो रहेको बताउनुहुँदै मन्त्री राईले बीआरआईलाई अनुदान वा रिण हो भनि विवादित बनाउन नहुने बताउनुभयो । साथै मन्त्री राईले मुलुकको विदेश नीति परिपक्व नहुँदासम्म त्यो राजनीतिक दलहरुको सत्तामा पुग्ने भर्याङ मात्र हुने पनि बताउनुभयो ।

कोशी प्रदेशका पूर्व समाजिक विकास मन्त्री तथा नेकपा एमालेका नेता जीवन घिमिरेले बीआरआई परियोजना नेपालको हितमा रहेको बताउनुहुँदै बीआरआईले नै नेपाललाई भारतवेष्ठित परनिर्भरतालाई हटाउने विश्वास व्यक्त गर्नुभयो । विश्वको समृद्धिसँग जोडिएको बीआरआईलाई नेपालको पूर्वाधार विकास र कनेक्टिभिटीमा जोड्न सक्दा यसले नेपालको समृद्ध बनाउने भएकाले बीआरआई परियोजनामा नेपाल जोडिएकोमा त्यसलाई सबैले स्वागत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारीले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन जस्ता क्षेत्रको विकासमा चीनको विकासलाई सदूपयोग गर्नुपर्ने बताउनुभयो । नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउनुहुँदै सांसद अधिकारीले प्रधानमन्त्री ओलीको भर्खरै सम्पन्न चीनको ओपचारिक भ्रमणका क्रममा भएका बीआरआईसँग सम्बन्धित परियोजनाहरुलाई स्वागत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कोशी प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री गणेश प्रसाद उप्रेतीले चीनको बीआरआई परियोजनाबाट नेपालले महत्वपूर्ण सहयोग प्राप्त गर्न सक्ने भए पनि बीआरआई सम्झौताको व्यवहारिक पक्ष अहिलेको सरकारले पुरा गर्न नसक्ने हो कि भनि चिन्ता व्यक्त गर्नुभयो । साथै उहाँले केपी शर्मा नेतृत्वको सरकार आफै बीआरआईका बारेमा अन्योलमा रहेको पनि बताउनुभयो ।

कोशी प्रदेशका प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले नेपाल र चीनबीच प्राचीनकालदेखिनै ऐतिहासिक सम्बन्ध रहेको भन्दै नेपालको पूर्वाधार विकासमा चीनले महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । चीन सरकारको सहयोगमा निर्माण भएको कोदारी राजमार्गमार्फत नेपाल र चीनको व्यापारीक सम्बन्ध अझ विकास भएको बताउनुहुँदै सांसद पालुङ्वाले नेपालको पर्यटन क्षेत्रको विकासमा चीनले ठूलो सहयोग गर्न सक्ने भएकोले नेपालका पर्यटकीय गन्तब्यका बारेमा चीन सरकारले प्रचार प्रसार मार्फत सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कोशी प्रदेशका प्रदेश सभा सदस्य तथा नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक विदुर लिङ्थेपले प्रधानमन्त्री केपी शर्माओलीले हालै गर्नुभएको चीनको औपचारिक भ्रमणमा भएका दशबुदे सम्झौताले नेपालको विकास निर्माणमा महत्वपूर्ण परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले चीनको हजारौं वर्ष पुरानो भाषा, संस्कृति र जीवनशैलीबाट नेपालीले पनि सकारात्मक सन्देश प्राप्त गर्न सक्ने बताउनुभयो ।

चीन अध्ययन केन्द्रका सचिव प्रकाश बाबु पौडेलले नेपाल बीआरआईको सदस्य देश भएको जानकारी दिनुहुँदै चीनको विकासबाट कसरी फाईदा लिन सक्छौं भन्ने कुरो महत्वपूर्ण भएकोले सबैले यस विषयलाई ध्यान दिनुपर्ने बताउनुभयो । साथै सचिव पौडेलले चिनियाँ रेल नेपालहुँदै भारतसम्म विस्तार गर्दा त्यसले भारतलाई अझ धेरै फाईदा पुग्ने बताउनुभयो ।

अग्रज पत्रकार यज्ञ प्रसाद शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न गर्नुभएको चीनको औपचारिक भ्रमणको प्रसंग उल्लेख गर्नुहुँदै सो भ्रमणका क्रममा नेपाल र चीनकाबीचमा बीआरआई अन्तरगत भएका सहमतीहरुलाई व्यवहारमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।

क्यापिटल मिडिया ग्रुपका अध्यक्ष शुशिल राउतले चीनले विश्वलाईनै आश्चर्यमा पार्ने हिसावले विकास निर्माण गरिरहेको जानकारी दिनुहुँदै असल छिमेकी भएको नाताले नेपालले पनि चीनको जस्तै विकास ल्याउन सक्नुपर्नेमा जोडदिनुभयो । साथै राउतले चीन र नेपालका सञ्चारगृहहरुबीचको आदान प्रदानलाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो ।

चाईना ग्लोवल टेलिभिजन नेटवर्क सीजीटीएन नेपाली विभागका प्रमुख सुमेघाले नेपाल र चीनबीच जनस्तरमा दिनानुदिन सम्बन्ध विकसित हुँदै गएको बताउनुहुँदै नेपालको भौतिक पूर्वाधार क्षेत्रको विकासमा चीनको निरन्तर सहयोग गरिरहेको जानकारी दिनुभयो । चीन र नेपालले विकास निर्माण लगायतका क्षेत्रमा साझेदारी गरिरहेको बताउनुहुँदै उहाँले बीआरआई मार्फत नेपालले आगामी दिनहरुमा अझ धेरै फाइदा लिनसक्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम आयोजक संस्था फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टका अध्यक्ष रमेश हतुवालीले सुधार र खुलापन सुरु भएको ४५ वर्षको अवधिमा चीन विश्वको दोस्रो अर्थतन्त्र बनिसक्दा पनि नेपालको विकास निर्माण निन्याउरो हुनु दुःखको कुरो भएको बताउनुभयो । चीनको समृद्धिबाट दक्षिण अमेरिका र अफ्रिकी देशहरुले ठूलो फाइदा लिईरहेको बताउनुहुँदै अध्यक्ष हुतवालीले चीनको समृद्धिबाट किन फाइदा लिन सकिरहेका छैनौं भनि प्रश्न गर्नुभयो । नेपालले चीनको बीआरआई महापरियोजनाबाट फाईदा लिन के कस्ता अभ्यासहरुलाई निरन्तरता दिनु आवश्यक छ भन्ने लगायतका विषयमा बीचार बुझ्ने उद्धेश्यले अन्तरक्रियाको आयोजना गरेको जानकारी पनि दिनुभयो ।

नेपाल-चीन जनमैत्री परिषद्का पूर्वअध्यक्ष लोकेन्द्र काफ्लेले सञ्चालन गर्नुभएको सो कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सीआरआई श्रोता क्लवहरुको राष्ट्रिय परिषद् नेपालका पदाधिकारी तथा सदस्यहरु, शिक्षक, विद्यार्थी, समाजसेवी र सञ्चारकर्मी समेत गरि झण्डै १५० जनाको सहभागिता रहको थियो ।

Facebook Comments