Sat. Dec 21st, 2024

स्व. सिंहको पार्थिव शरीरमा कामपा प्रमुख शाह र उपप्रमुख डङ्गोलबाट श्रद्धाञ्जली अर्पण

काठमाण्डू, २०८१ पुस १ गते सोमबार । काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डङ्गोलले कामपाका पूर्वप्रमुख पिएल सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

आज चाक्सीबारी पुगेर पुष्पगुच्छा अर्पण गर्दै उहाँहरूले पूर्वप्रमुखको पार्थिव शरीरलाई बिदाइ र शोकसन्तप्त परिजनमा समवेदना प्रकट गर्नुभएको हो ।

उहाँहरूसँगै कामपाका प्रवक्ता नवीन मानन्धर, विषयगत समितिका संयोजक, कार्यपालिका सदस्य, नगरसभा सदस्य र कर्मचारीहरूले सिंहको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।

राससका अनुसार  पूर्वप्रमुख सिंहको ८८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । पछिल्लो समय उपचारसँगै उहाँ ठमेल चाक्सीबारी बस्दै आउनुभएको थियो । पूर्वमन्त्रीसमेत रहेका सिंहको पेटमा अल्सर भएपछि गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो । वि.सं.  १९९६ चैत ११ गते जन्मनुभएका सिंह २०४९ सालमा भएको स्थानीय तह निर्वाचनमा काठमाण्डू नगरपालिका प्रमुखमा निर्वाचित हुनुभएको थियो । उहाँकै कार्यकाल २०५२ साल मङ्सिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो ।

कामपाले स्व. सिंहको निधनप्रति सम्मान प्रकट गर्दै आज केन्द्रीय कार्यालय र मातहतका सबै वडा कार्यालयका अत्यावश्यकबाहेक सेवा बन्द गरी शोक बिदा दिएको छ ।

Facebook Comments