Fri. Apr 26th, 2024

घनघस्यामा नाङ्गै हिँड्ने आरतीलाई लुगा सहयोग

नौ वर्षीया आरती भण्डारी पहिले र अहिले

बैतडी, २०७७ साउन २३ गते शुक्रबार

लगाउने लुगा नहुँदा घनघस्याको लेकमा नाङ्गै गोठालो जाने नौ वर्षकी आरती भण्डारीलाई लुगा प्राप्त भएको छ ।

डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका–१, खतेडा गाउँकी आरती भण्डारीको विषयमा गोरखापत्रमा समाचार प्रकाशित भएपछि सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्म बैतडीका प्रमुख (डिएसपी) अमित सिंहले नौ वर्षीया आरती भण्डारी र १२ वर्षिय पारस भण्डारीलाई लगाउने लुगा र चप्पल प्रदान गर्नुभएको छ ।

“ जिउ ढाक्ने लुगा नहुँदा बालबालिका नाङ्गै हिँडेको देख्दा मन दुःख्यो”, गुल्म प्रमुख सिंहले भन्नुभयो “ यो बेलामा पनि एक जोर लुगा लगाउन र दुई छाक खान नपाउनु विडम्बनाको कुरा हो । नानीको घरसम्मै लुगा पुग्ने गरी पठाएको हुँ ।”

नयाँ लुगा पाएपछि आरतीले निकै खुशी लागेको बताईन् । बहिनीसँगै आफूले पनि नयाँ लुगा पाएकोमा १२ वर्षीया पारस भण्डारीले पनि खुशी लागेको बताउनुभयो ।

आरतीसँग जिउ ढाक्ने लुगा थिएन । बुवा शारीरिक रुपमा अपाङ्ग हुँदा कमाई गर्ने मान्छे छैन । घरमा खान पुग्दैन । “परिवारमा सात जना सदस्य रहेका छन् । खान पुग्दैन । स्थानीय सरकारले पनि हेरेको छैन”, बुवा नारसिंह भण्डारीले भन्नुभयो ।

आरती र पारसका विषयमा समाचार प्रकाशित भएपछि केही मनकारीले थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । गोरखापत्रको अनलाईनमा प्रकाशित समाचारमै आफ्नो प्रतिबद्धता जनाउनु हुँँदै वीरबहादुर ऐर, झ चौलागाईं र रमेश हतुवालीले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments