२०८३ भाद्र २, मंगलवार

प्रधानमन्त्री ओलीद्वारा आफूले आधारभूत शिक्षा लिएको विद्यालयको भवन उद्घाटन 

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार तेह्रथुमको आठराई गाउँपालिका–४, इवामा रहेको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवन कार्यक्रम उद्घाटन गर्दै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

       

पाँचथर, २०८१ मंसिर २६ गते बुधबार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ ।

तेह्रथुमको आठराई गाउँपालिका-४ इवामा रहेको उक्त विद्यालयमा निर्माण भएको १८ कोठे भवन आज प्रधानमन्त्री ओलीले रिबन काटेर उद्घाटन गर्नुभएको हो । यस क्रममा उहाँले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय लगायतसँग अन्तरक्रियासमेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्मित उक्त भवनको हालै निर्माण सम्पन्न भएको हो । भवन निर्माणमा उक्त फाउण्डेसनले रु चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले रु २१ लाख ४० हजार र आठराई गाउँपालिकाले रु ६९ लाख लगानी गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेका अनुसार पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको पहल गरिदिन आग्रह गरेको थियो ।

प्रधानमन्त्री ओलीकै आग्रहका युम होङ गिल ह्युमन फाउण्डेसन दक्षिण कोरियाले मुख्य लगानी गरेपछि भवन निर्माण भएको घिमिरेले बताउनुभयो । कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, युम होङ गिल ह्युमन फाउण्डेसनका पार्क यु सुन लगायतको उपस्थिति रहेको थियो । रासस

Facebook Comments