Sun. Dec 22nd, 2024

बीआरआई नेपाल, भारत र चीनको समृद्धिसँग जोडिएको छ

काठमाण्डू, २०८१ मंसिर १७ गते सोमबार । प्रधानमन्त्री केपी शर्मा ओली चीनको ४ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्तान गर्नुभएको छ ।

प्रधानमन्त्रीको यस पटकको चीन भ्रमण नेपाल, भारत र चीनको साझा समृद्धिमा आधारित बीआरआई परियोजनामा केन्द्रित रहने विज्ञले बताएका छन् । प्रधानमन्त्री ओलीको चीन भ्रमण र त्यहाँ हुने द्विपक्षीय छलफलका बारेमा रे टेलिभिजनसँग कुराकानी गर्नुहुँदै वरिष्ठ लेखक तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले बीआरआई परियोजना नेपाल, भारत र चीनको साझा समृद्धिमा आधारित भएकाले यसलाई रिनको बोझको रुपमा परिभाषित गर्न नहुने बताउनु भएको छ । परराष्ट्रविद् श्रेष्ठले नेपालले अमेरिका, विश्व बैंक, एशियाली विकास बैंक, जापान जस्ता मुलुकबाट प्राप्त गरेको ८० प्रतिशत रिन नेपालका लागि बोझ नहुने चीनको रिन कसरी बोझ हुन्छ भनि प्रश्न गर्नुभयो ।

बीआरआई परियोजनामार्फत चीनको रेल नेपालको लुम्बिनीसम्म पुग्यो भने त्यसले नेपाललाई भन्दा भारतलाई धेरै फाईदा हुने जानकारी दिनुहुँदै परराष्ट्रविद् श्रेष्ठले २१औं शताब्दिलाई एशियाको शताब्दी बनाउन नेपाल, भारत र चीनले मिलेर काम गर्नुपर्ने सुझाव दिनुभयो ।

यस पटकको प्रधानमन्त्रीको चीन भ्रमणले नेपाललाई सँधैका लागि बैकल्पिक मार्ग र बैकल्पिक ओसार पसार लगायतका विभिन्न विषयमा बीआरआई परियोजनामार्फत महत्वपूर्ण सहयोग प्राप्त हुने परराष्ट्रविद् श्रेष्ठको विश्वास छ ।

प्रधानमन्त्री ओली चिनियाँ प्रधानमन्त्री लि छ्याङको मैत्रीपूर्ण निमन्त्रणमा आज नेपाली प्रतिनिधीमण्डलको नेतृत्व गर्दै चीनको राजधानी पैचिङ पुग्नु भएको छ ।

Facebook Comments