Mon. Dec 30th, 2024

‘द्विपक्षीय हित र पारस्परिक लाभमा आधारित नेपाल-चीन सम्बन्ध’   

काठमाण्डू, २०८१ मंसिर १७ गते सोमबार । प्रधानमन्त्री केपी शर्मा ओली उत्तरको छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको चारदिवसीय औपचारिक भ्रमणका लागि आज पैचिङ प्रस्थान गर्दै हुनुहुन्छ । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ चीन भ्रमणमा निस्कन लाग्नुभएको हो ।

नेपाल-चीनबीच परापूर्व ऐतिहासिककालदेखि नै मित्रवत र न्यानो सम्बन्ध रहिआएको छ । सभ्यता, ज्ञानविज्ञान र दर्शनको साटासाट मात्र नभई मञ्जुश्री, बुद्धभद्र र भृकुटीले दुई देशबीचको सम्बन्धलाई प्रगाढ तुल्याउन महत्वपूर्ण भूमिका खेलेको इतिहास छ ।

आधुनिक नेपाल र चीनबीच दौत्य सम्बन्ध सन् १९५५ बाट सुरु भयो । चीनले सन् १९६० मा काठमाण्डूमा तथा नेपालले सन् १९६१ मा पैचिङ मा दूतावास स्थापना गरे । पछिल्ला वर्षहरूमा दुवै देशहरूबाट उच्च तहका भ्रमण निरन्तर हुँदै आएका छन् ।

नेपाललाई एउटा शान्तिपूर्ण, समृद्ध र लोकतान्त्रिक गणतन्त्रात्मक देशका रूपमा चीनले व्यापार, शिक्षा, पर्यटन र भौतिक पूर्वाधारलगायत निर्माण क्षेत्रमा लगानी, अनुदानका क्षेत्रमा आर्थिक सम्बन्ध र सहयोग विस्तार गर्दै आएको छ ।

चीन विश्वकै उदयमान अर्थतन्त्र भएको छिमेकी मुलुक भएकाले नेपाले चीनबाट प्रशस्त लाभ प्राप्त गर्ने सम्भावना धेरै छ । सधैँ शान्त कूटनीति अङ्गाल्दै आएको चीनबाट नेपाल राजनीतिक स्थायित्व र समृद्धिको यात्रामा निरन्तर अघि बढिरहोस् भन्ने चाहना प्रकट हुँदै आएको छ ।

चीनबाट नेपाल आर्थिकका अतिरिक्त सूचना प्रविधिका क्षेत्रमा नवीनतम् प्रविधि हस्तान्तरण तथा यातायातको सम्पर्क सञ्जाल विस्तारमा सहयोगको अपेक्षा गरिएको छ । नेपालको आर्थिक विकासमा ठूलो सहयोग उपलब्ध गराउने मुलुकको सूचीमा चीन अग्रपङ्क्तिमा छ ।

काठमाण्डू-भक्तपुर ट्रली बस, हिमाल सिमेन्ट, हेटौँडा कपडा उद्योग, बुटवल धागो उद्योग, हरिसिद्धी इँटा टायल कारखाना, गोरखकाली रबर उद्योगलगायत दर्जनौँ उद्योग चिनियाँ सहयोगमा निर्माण भएका थिए । यस्तै चीनले नेपालको सडक पूर्वाधारमा पनि ठूलो गरेको गरेको छ । अरनिको राजमार्ग, काठमाडौँको चक्रपथ, निजामती अस्पताललगायत परियोजना चीन सरकारका सहयोगमा निर्माण भएका हुन् ।

चिनियाँ लगानी नेपाल कृषि, पर्यटन, उद्योग र ऊर्जा क्षेत्रमा छ भने सहयोग भने बहुआयामिक क्षेत्रमा भइरहेको छ । जुनसुकै कालखण्डमा नेपाललाई अप्ठ्यारो परेको अवस्थामा चीनले असल छिमेकीका रुपमा भरमग्दुर सहयोग गर्दै आएको छ । दुवै देशका नागरिक एकअर्काे देशको भ्रमण गर्ने सङ्ख्या पछिल्ला वर्षहरूमा बढेपछि नागरिकस्तरमा समेत सम्बन्ध झाँगिदै गएको अनुभूतिभएको छ ।

‘नेपाल–चीन सम्बन्ध घनिष्ठ, बलियो र भरपर्दाे छ’    
– महेन्द्रबहादुर पाण्डे, चीनका लागि पूर्व नेपाली राजदूत   

नेपाल र चीन समस्यारहित पारस्परिक हितमा काम गर्ने भरपर्दा घनिष्ट मित्रकारुपमा रहेका छिमेकी मुलुक हुन् । चीन र नेपालबीचको सम्बन्ध भनेको द्विपक्षीय हित र पारस्परिक लाभमा आधारित सम्बन्ध हो । कहिलेकाहीँ अप्ठ्यारो परिस्थितिमा पनि चीनले नेपालाई सहयोग गरेको छ । विभिन्न मुलुकले चीनलाई अप्ठ्यारो पार्न खोज्दा नेपालले एक चीनको नीतिलाई दृढताका साथ अघि सार्दै आएको छ । हाम्राबीचका सम्बन्ध घनिष्ठ, बलिया र भरपर्दा छन् । नेपालको भूमिबाट चीनविरुद्ध कुनै गतिविधि नहोस् भन्ने अपेक्षा गर्छ । त्यस्तै एक चीन नीतिमा नेपाल अडिग रहन्छ भन्नेमा चीन विश्वस्त छ । त्यस हिसाबले भरपर्दाे मित्रका रुपमा नेपालाई हेर्छ । नेपाले पनि चीनविरुद्धको कुनै पनि गतिविधि हुन दिँदैनौँ । हाम्रो संसारमा कुनै शत्रु छैनन् । तर सम्बन्ध भने सबैसँग एकै खाले हुन सक्दैनन् । चीनले नेपालमा सधैँ राजनीतिक स्थिरता होस् भन्ने चाहन्छ । स्थिर सरकार बनोस्, अरुले खेल्ने मौका नपाओस् । समृद्धिमा जाओस् । भरपर्दाे सरकार रहोस् । विकास र समृद्धिका काम नेपालले छिटो अघि बढोस् भनी सहयोग गर्दै शुभेच्छा राख्दैआएको छ । नेपालप्रति चीन सधैँ सहयोगात्मक र सौहार्द धारणा राख्छ ।

‘शक्ति र व्यक्ति होइन, देशलाई हेरि व्यवहार गर्नुपर्छ’    
–सुरेन्द्र कार्की, नेता, नेकपा (माओवादी केन्द्र)   

इतिहासदेखि नै नेपालको निकट घनिष्ठ छिमेकी मुलुकका रुपमा चीन रहेको छ । हाम्रा दुवै छिमेकीले अहिले अभूतपूर्व आर्थिक विकास गरेको अवस्था छ । विगतमा चीन र भारत किनारमा रहेका यी देश अहिले केन्द्रमा रहन पुगेका छन् । जसले विश्व अर्थतन्त्रमा उनीहरूको उपस्थिति विशेष हुन पुगेको छ । उनीहरूसँगको सम्बन्धमा पुर्नभाषित गर्नुपर्ने अवस्था बनेको छ । यातायातका माध्यमबाट सम्पर्क सञ्जाल विस्तार गर्ने ध्येयले चीनले बिआरआई परियोजना अघि बढाएको छ । त्यसले राम्रो ‘ट्रान्जिट हब’ नेपाल बन्न सक्ने सम्भावना छ । त्यसका लागि चाहिने पूर्वाधार, प्रविधि र जनशक्ति हामीसँग छैन । नेपालले ती आवश्यकता परिपूर्ति गर्न चीनसँग कुराकानी गर्नुपर्छ । चीनले पुरानो मित्र र स्वभाविक रणनीतिक महत्वपूर्ण ठाँउमा रहेको देशका रुपमा नेपालाई हेर्छ । राजनीतिक स्थायित्व प्राप्त गरोस् भन्ने चाहन्छ । नेपालमा राजनीतिक अस्थिरतका कारण दरो र टिकाउ साथी पाइरहेको छैन । उसले राजनीतिक शक्ति र व्यक्तिलाई भन्दा देशलाई हेरेर व्यवहार गर्नुपर्छ ।

(प्रधानमन्त्री केपी शर्मा ओलीको आजबाट हुन लागेको चार दिवसीय चीन भ्रमणका पूर्वसन्ध्यामा नेकपा (एमाले) नेता तथा पूर्वपराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वसूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीसँग राससले गरेको कुराकानीमा आधारित)

Facebook Comments