कीर्तिपुर नगरपालिकामा ६५ प्रतिशत मतदान
कीर्तिपुर (काठमाण्डू), २०८१ मंसिर १६ गते आइतबार । कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा ६५.३९ प्रतिशत मतदान भएको छ । कीर्तिपुरको कुल मतदाता सङ्ख्या ३१ हजार एक सय २२ रहेकामा २० हजार तीन सय ४६ मत खसेको थियो ।
राससका अनुसार मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार कीर्तिपुरका सबै २० मतदानस्थलमा बिहान ७ बजेदेखि सुरु भएको मतदान दिनभर शान्तिपूर्ण रुपमा रही साँझ ५ बजे सम्पन्न भएको हो । नगरपालिका प्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा प्रमुख पदमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार रहेका छन् भने वडा नं १ मा नौ तथा वडा नं ४ मा १२ उम्मेदवार चुनावी मैदानमा छन् ।
कीर्तिपुरका तत्कालीन नगरप्रमुख राजकुमार नकर्मी, वडा नं १ का वडाध्यक्ष हिरालाल महर्जन र वडा नं ४ का वडाध्यक्ष श्यामराज अधिकारीको निधन भएपछि उपचुनाव भएको हो ।