सिरियाको अलेप्पो सहरको अधिकांश भाग विद्रोहीको नियन्त्रणमा
बेरुत, लेबनान,२०८१ मंसिर १५ गते शनिबार । सिरियाको अलेप्पो शहरको अधिकांश भाग विद्रोहीले समूहले नियन्त्रण गरेका छन् ।
सिरियाली सेनाले विद्रोहीहरू अलेप्पोको ‘ठूलो भागमा’ प्रवेश गरेको स्वीकार गर्दै ‘सरकार पक्षधर सशस्त्र बलका दर्जनौँ व्यक्ति मारिएको र अन्य घाइते भएको’ बताएको छ ।
दुई महिना लामो युद्धपछि इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच छिमेकी लेबनानमा युद्धविराम लागू भएकै दिन बुधबारदेखि लडाकुहरूले इरानी र रूसी समर्थित सिरियाली सरकारका सेनाविरुद्ध व्यापक आक्रमण गरिरहेका छन् ।
“हयात तहरीर अल–शाम (एचटीएस) र सहयोगी समूहहरू बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) ले भनेको छ, “विद्रोहीले शहरको अधिकांश भूभाग, सरकारी कार्यालय र कारागारलाई नियन्त्रणमा लिएको छ ।”
एएफपीका अनुसार अल–कायदाको पूर्व सिरिया शाखाको नेतृत्वमा रहेको जिहादी गठबन्धन (एचटीएस) ले सिरियाको उत्तरपश्चिममा रहेको इदलिब क्षेत्रको केही भागका साथै छिमेकी अलेप्पो, हामा र लाटकिया प्रान्तका केही भागमा नियन्त्रण जमाएको छ ।
आक्रमणमा टर्कीसमर्थित विद्रोही समूह पनि समावेश रहेको बताइएको छ ।
यसैबीच, सिरियाली राष्ट्रपति बसर अल असद नेतृत्वको सरकारलाई सहयोग गर्दै आएको रूसले आफ्ना लडाकू विमानले सन् २०१६ पछि पहिलो पटक अलेप्पो शहर क्षेत्रमा आक्रमण गरेको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएको छ ।
एएफपी टिभीको तस्बिरमा हवाई आक्रमणपछि सहरको केही भागमा व्यापक आगलागी भएको देखिएको छ भने सडकहरू सुनसान देखिएका छन् र एएफपीले लिएको तस्बिरमा सिरियाली टेलिकमको भवन र ऐतिहासिक किल्लाबाहिर विद्रोहीहरूले खुशियाली मनाइरहेको देख्न सकिन्छ ।
केही विद्रोहीहरूले शहरको केन्द्रमा प्रार्थना गरेका थिए र उत्सवमा गोली चलाएका थिए र पछि मध्य अलेप्पोमा पैदल गस्ती गरिरहेका थिए।
सिरियाली सेनाले ‘सशस्त्र आतङ्कवादी सङ्गठनहरू’ले ‘अलेप्पो र इदलिब मोर्चामा विभिन्न कोणबाट व्यापक आक्रमण’ गरेको र ‘१०० किलोमिटर (६० माइल) भन्दा बढी दूरीमा भीषण युद्ध भएको’ बताएको छ।
सिरियाली युद्ध अनुगमनकारी संस्थाका अनुसार रातभर गरिएको हवाई आक्रमण उक्त क्षेत्रमा ’ठूलो (विद्रोही) सैन्य बलको आगमनसँग मिल्दोजुल्दो थियो । युद्ध अनुगमनकर्ताले विद्रोहीहरूले उत्तरका दर्जनौं शहर र गाउँहरू कब्जामा लिएको पनि जनाएको छ।
केही दिनयता भएको झडपमा मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ३११ पुगेको छ जसमा एचटीएस र सम्बद्ध समूहका १८३ एचटिएस लडाकू र १०० सरकार समर्थित सेनाका साथै २८ सर्वसाधारण रहेका छन् ।
सिरियामा सन् २०११ मा राष्ट्रपति बशर अल असदको सेनाले प्रजातन्त्र पक्षधर प्रदर्शनमा कडाइ गरेपछि गृहयुद्ध सुरु भएको थियो ।
त्यसयता सिरियामा पाँच लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ, लाखौँ मानिस विस्थापित भएका छन् र देशको पूर्वाधार र उद्योगधन्दामा व्यापक क्षति पुगेको छ ।
पछिल्ला वर्षहरूमा यो द्वन्द्व जिहादी र असदका सहयोगी रूस, इरान र हिजबुल्लाहलगायत विदेशी शक्तिहरूबीच जटिल युद्धमा परिणत भएको छ।
सेनाले युद्धमा गुमेको अधिकांश भूभागमा पुनः नियन्त्रण कायम गरे पनि जिहादी र उनीहरूका सहयोगीहरू रहेको क्षेत्रमा सन् २०२० देखि युद्धविराम शुरू भएको थियो ।
सिरियासँगको छिमेकी र असद विरोधी विद्रोहलाई समर्थन गर्ने टर्की समर्थित जिहादी र अन्य समूहले यसै साता सरकारी सेनाविरुद्ध ठूलो आक्रमण सुरु गरेका थिए ।