नयाँ आर्थिक वर्षका लागि अवधि समाचार सेवाको सम्झौता
खजुरा (बाँके), २०८१ मंसिर १२ गते बुधबार । राष्ट्रिय समाचार समिति (रासस)ले अवधि भाषाको समाचार सेवा प्रवाहका लागि चालु आर्थिक वर्षमा नयाँ सम्झौता गरेको छ । राससले नेपालगञ्ज उपमहानगरपालिका, बाँकेसँग आज सम्झौता गरेको हो ।
राससका महाप्रबन्धक सिद्धराज राई र उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले सम्झौतापत्रमा आज यहाँ हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार राससले हप्ताको छ दिन अवधि भाषामा समाचार सम्प्रेषण गर्नेछ । यसबाट अवधि भाषाका सञ्चारमाध्यम र भाषाभाषी लाभान्वित हुने विश्वास गरिएको छ ।
लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लामा अवधि भाषी समुदायको बाहुल्य रहेको र उनीहरूको मातृभाषालाई संरक्षण र सम्वर्द्धन गर्न सो सेवा प्रभावकारी हुने राससले विश्वास लिएको छ ।
बाँके जिल्ला अवधि भाषीको बाहुल्य क्षेत्र भएको र यस उपमहानगरपालिकामा रहेका सञ्चारमाध्यममार्फत रासस अवधि समाचार सेवाले समुदायको सशक्तीकरण हुने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताउनुभयो । सो अवसरमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्काले भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न यस सेवाबाट टेवा पुग्ने उल्लेख गर्नुभयो ।
राससका महाप्रबन्धक राईले गत वर्षदेखि सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले गरेको सहयोगलाई धन्यवाद दिँदै अवधि समाचार सेवाले यस क्षेत्रका स्थानीय सञ्चारमाध्यम बढी लाभ लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले राससले मातृभाषा (अवधि, मैथली र नेपाल भाषा) को समाचार सेवा निःशुल्क रूपमा उपलब्ध गराएको बताउनुभयो ।
गत वर्षदेखि सुरू भएको सेवाको चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्मका लागि सेवाको नवीकरण गरी सम्झौता गरिएको नेपालगञ्ज उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले बताउनुभयो ।