Mon. Dec 30th, 2024

पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन

काठमाण्डू,२०८१ मंसिर २ गते आइतबार । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार काठमाण्डूको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उहाँको आज दिउसो १:३० बजे निधन भएको हो । ढुङ्गाना ८३ वर्षका हुनुहुन्थ्यो । ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो ।

राससका अनुसार  सरल र मिलनसार स्वभावका ढुङ्गाना वरिष्ठ अधिवक्ता समेत हुनुहुन्थ्यो । उहाँ २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । ढुङ्गाना २०४८ सालदेखि २०५१ सम्म सभामुखको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । मानवअधिकारकर्मी समेत रहनु भएका ढुङ्गानाले तत्कालीन शसस्त्र विद्रोहमा होमिएको नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।  नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्व योगदान दिनुभएका उहाँ राजनीतिक आन्दोलनका क्रममा पटक–पटक जेल पनि पर्नुभएको थियो । उहाँका श्रीमति, दुई छोरा र एक छोरी हुनुहुन्छ । उहाँको भोलि अन्त्येष्टि गरिने ढुङ्गाना स्वकीय सचिव डा. रुद्र शर्माले जानकारी दिनुभयो ।

Facebook Comments