Mon. Jan 13th, 2025

अमेरिकासँग सञ्चार च्यानल ‘अझै पनि विद्यमान’ रहेको इरानको भनाइ   

तेहरान, २०८१ कात्तिक २९ गते बिहीबार । डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको एक हप्तापछि संयुक्त राज्य अमेरिकासँग सञ्चार च्यानलहरू अझै खुला रहेको इरानका शीर्ष कूटनीतिज्ञले बुधबार बताएका छन् ।

“हामी र अमेरिकीहरूबीचको सञ्चार च्यानलहरू अझै पनि विद्यामान छन्”, अब्बास अराघचीले साप्ताहिक क्याबिनेट बैठकको साइडलाइनमा भन्नुभयो, “अमेरिकीहरूसँग हाम्रा मतभेदहरू छन्, जुन कहिलेकाहीँ धेरै आधारभूत र केन्द्रीय हुन्छन् र समाधान हुन सक्दैनन्, तर हामीले उनीहरूको लागत घटाउन र तनाव कम गर्न व्यवस्थापन गर्नुपर्छ ।”

उहाँले गत महिना अमेरिकासँगको अप्रत्यक्ष आणविक वार्ता गर्नका लागि कुनै आधार नभएको बताउनुभएको थियो । “हामीले वर्तमान सङ्कट पार नगरेसम्म यी वार्ताका लागि कुनै आधार देख्दैनौँ”, क्षेत्रीय भ्रमणको हिस्साका रूपमा अक्टोबर १४ मा ओमानको खाडी सल्तनतको भ्रमणका क्रममा उहाँले भन्नुभएको थियो ।

एएफपीका अनुसार ओमानले लामो समयदेखि इरान र संयुक्त राज्य अमेरिकाबीच मध्यस्थता गर्दै आएको छ । इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछि पश्चिमी नेतृत्वको शाह मोहम्मद रेजा पहलवीलाई हटाएसँगै अमेरिकाले इरानसँगको सम्बन्ध तोडेको थियो ।

इरानी शीर्ष कूटनीतिज्ञको टिप्पणी मङ्गलबार देशका राष्ट्रपतिले प्रतिध्वनित गर्नुभएको थियो । “अमेरिकाको सन्दर्भमा, चाहे हामीलाई मनपर्दछ वा मनपर्दैन, हामी अन्ततः क्षेत्रीय र अन्तर्राष्ट्रिय क्षेत्रमा यस देशको सामना गर्नेछौँ र यो मुद्दालाई आफैँले व्यवस्थापन गर्नु राम्रो हुन्छ”, राष्ट्रपति मसुद पेजेस्कियानले भन्नुभयो ।

अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेको इरान सन् २०१५ मा अमेरिकासहितका प्रमुख शक्तिहरूसँग आफ्नो आणविक कार्यक्रमलाई सीमित गर्न र क्रमशः प्रतिबन्धहरू हटाउने सम्झौतामा पुगेको थियो ।

तर ट्रम्प प्रशासनले यो सम्झौतालाई तीन वर्षपछि फिर्ता लिएर प्रतिबन्धहरू पुनः लागु गरेपछि सम्झौता विफल भयो ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीले देशको आणविक कार्यक्रममा इरानी अधिकारीहरूसँग वार्ता गर्न बुधवार तेहरानको भ्रमण गर्ने क्रममा यो घटनाक्रम आएको हो ।

“एजेन्सीसँग कसरी सहयोग गर्ने भन्ने विषयमा समस्या र असहमति छ”, बुधबार अराघचीले भन्नुभयो । उहाँले ग्रोसीको भ्रमणका क्रममा दुवै पक्षले ‘अस्तित्वमा रहेका केही मतभेद र भविष्यमा कसरी सहयोग गर्ने भन्ने सम्बन्धमा सहमतिमा पुग्नसक्ने’ आशा व्यक्त गर्नुभयो ।

Facebook Comments