Wed. Dec 25th, 2024

युक्रेनद्वारा मस्कोमा आक्रमण, ३४ वटा ड्रोन खसालेको रूसको दावी   

मस्को, २०८१ कात्तिक २५ गते आइतबार । युक्रेनद्वारा मस्कोमा ड्रोन आक्रमण गरेको छ । रूसले युक्रेनद्वारा प्रहार गरिएका ३४ वटा ड्रोन आफ्नो हवाइ रक्षा प्रणालीले खसालिदिएको बताएको छ ।

आक्रमणलाई रूसले सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेयताको सबैभन्दा ठूलो आक्रमण भनेको छ ।

मस्कोका तीन वटा विमानस्थल अस्थायी रुपमा बन्द गर्न बाध्य पारिएको उक्त आक्रमणमा ५२ वर्षीया एक महिला घाइते हुनुका साथै मस्को क्षेत्रको स्टानोभोय गाउँका दुई घरमा आगजनी भएको अधिकारीहरूले बताएका छन् ।

युद्धमा युक्रेनको राजधानी किएभमा रूसद्वारा व्यापक ड्रोन र क्षेप्यास्त्र आक्रमण हुने गरेको भए पनि मस्कोमा भने कम आक्रमण हुने गरेको छ ।

युक्रेनी ड्रोनलाई ग्रीनविच समय अनुसार ४ः०० देखि ७ः०० बीचमा छ वटा क्षेत्रमा खसालेको रूसको हवाई रक्षा मन्त्रालयले जनाएको छ ।

मस्को क्षेत्रमा ३४ र ब्रायन्स्क, ओर्लोभ, कालुगा, तुला र कुस्र्कमा पनि सोही सङ्ख्यामा ड्रोन आक्रमण भएको रूसले पुष्टि गरेको छ ।

मस्को क्षेत्रका स्थानीय अधिकारीले रामेन्सकोय, कोलोम्ना र डोमोडेडोभो क्षेत्रमा ड्रोन खसालेको बताएका छन् ।

रुसी सञ्चारमाध्यमले अनलाइनमा सार्वजनिक गरेको भिडियोमा रामेन्सकोय जिल्लामा रहेको एक घरमा आगो लागेको देखिएको छ ।

गत सेप्टेम्बरमा मस्को नजिकै व्यापकरूपमा भएको अर्को ठूलो ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको थियो । द्वन्द्व सुरु भएयता राजधानी नजिकै युक्रेनी आक्रमणमा मृत्यु भएको त्यो पहिलो घटना थियो ।

सन् २०२३ को मे महिनामा क्रेमलिन नजिकै दुईवटा ड्रोन नष्ट गरिएको थियो भने सोही वर्ष मस्को सिटीको व्यापारिक क्षेत्रमा थुप्रै ड्रोन आक्रमण भएका थिए ।

Facebook Comments