Sun. Dec 22nd, 2024

पूर्वाधार र प्रचार अभावमा ओझेल परेको गन्तव्य ‘कोटथुम्का’   

काभ्रेपलाञ्चोक, २०८१ कात्तिक १४ बुधबार । यहाँको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी मण्डन, जहाँबाट मौसम खुलेको बेला सगरमाथाको चुचुरोसँगै गणेश, जुगल, गौरीशङ्कर, लाम्टाङलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

सदरमुकाम धुलिखेलबाट करिब ३० किलोमिटरको दुरीमा रहेको कोटथुम्का समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाईमा छ । ९० वर्ष अघिसम्म यहाँबाट ११ तले धरहरा देखिँदा पर्यटकको चहलपल हुने गरेको बुढापाकाको मुखबाट सुनेको स्थानीय शालिकराम श्रेष्ठ बताउनुहुन्छ ।

श्रेष्ठका अनुसार वि.सं. १९९० को भूकम्पपछि धरहराको उचाइ घट्दा यहाँ आउने आन्तरिक पर्यटक पनि घटेका हुन् । धरहरा भत्काएपछि यहाँबाट देखिन छाडेको बाउबाजेले सुनाउने गरेको स्थानीय बताउँछन् ।

श्रेष्ठका अनुसार कोटथुम्कामा स्थानीय तहसँगै केन्द्रीय सरकारले थप पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता छ । कोटथुम्का वरिपरी उमादेवी मन्दिर, कश्यपेश्वर महादेव मन्दिर, गुप्तेश्वर महादेव गुफा, खर्कको पोखरीलगायतका गन्तव्यहरु छन् । यहाँ दोलालघाट तथा मण्डन क्षेत्रबाटै ‘हाईकिङ’ गरी वा सवारी साधन चढेर पुग्न सकिन्छ ।

काभ्रेपलाञ्चोक र सिन्धुको सिमास्थल भएर बग्ने इन्द्रावती नदीको मनमोहक दृष्यले त यहाँ पुग्ने जो कसैको मन लोभ्याउँछ । नजिकका जङ्गलमा फागुन–चैतमा ढकमक्क लालीगुराँस फुल्छ, जो यस क्षेत्रको मुख्य सौन्दर्य र आकर्षण मानिन्छ । वि.सं. २०७३ फागुन २७ गते तीन देउपुर र चार मण्डन गाभिएर मण्डनदेउपुर नगरपालिका घोषणा गरिएको हो । मण्डनका चार गाविस चण्डेनीमण्डन, महादेवस्थान, जैशिथोक र ज्याम्दी जोडिएर बनेको नगरको मुख्य आकर्षण कोटथुम्काको महत्व उजागर गर्न सके यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने स्थानीय बताउँछन् ।

“हामी कोटथुम्कालाई हालका संरचनाभन्दा थप पर्यटकीय बनाउन स्थानीय अगुवासँग आवश्यक पूर्वाधारबारे छलफल चलाउँदैछौँ”, स्थानीय रामबहादुर तामाङले भन्नुभयो । हाल कच्ची र साँघुरो सडकका कारण सडकमार्फत केही र पैदलमार्फत फाट्टफुट्ट पर्यटक आउने गरेको उहाँले बताउनुभयो ।

कोटथुम्कामा अवस्थित उमादेवी मन्दिर तथा कश्यपेश्वर महादेवको मन्दिरको प्राचीन किंबदन्ती छ । सत्य युगमा महादेवले पत्नी सतिदेवीको मृत्युपछि उनको शव बोकेर पृथ्वी परिक्रमा गर्ने क्रममा यहाँ आइपुगेपछि सतिदेवीको मुटु पतन भएको र यहाँ उमादेवी, कश्यपेश्वर महादेवको उत्पति भएको कुरा श्री स्वस्थानी कथामा वर्णन गरिएको छ । यहाँको मन्दिरमा ‘बलि’ चढाइएको पशुचौपायाको रगत ६० मिटर तल जङ्गलमा रहेको अर्को मन्दिरमा पुग्ने जनश्रुति पनि छ ।

धार्मिक महत्व रहेकाले यस ठाउँको प्रचारप्रसार अत्यावश्यक रहेको स्थानीय रमेश खनाल बताउनुहुन्छ । स्थानीय तहले पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । विगत केही वर्षदेखि आन्तरिक पर्यटक पिकनिक मनाउन यहाँ आउने गरेका छन् ।

कोटथुम्का नजिकै थानडाँडा छ, जहाँ खानेपानी र बसोबासको सुविधा छ । प्राकृतिकरुपले भरिपूर्ण थानडाँडामा पर्यटकका लागि भ्यूटावर पनि निर्माण गरिएको छ । नजिकको बस्ती रामपुरनजिकै बुद्धपार्क निर्माण गरिएको छ ।

Facebook Comments