Mon. Oct 28th, 2024

इयुद्वारा लेबनानमा ‘तत्काल युद्धविराम’ का लागि पुनः आह्वान   

बार्सिलोना, २०८१ कात्तिक १२ गते सोमबार । युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार लेबनानमा ‘तत्काल युद्धविराम’ को लागि पुनः आह्वान गर्दै हिजबुल्लाह विरुद्धको युद्धमा इजरायलको ‘अस्वीकार्य आक्रमण’ को निन्दा गर्नुभएको छ ।

इरान समर्थित मिलिसिया विरुद्धको आक्रमणले मध्यपूर्वमा बढ्दो द्वन्द्वमा संयुक्त राष्ट्रसङ्घको युनिफिल शान्ति सेना मिसनलाई अगाडि ल्याएको छ ।

सन् १९७८ देखि दक्षिणी लेबनानमा तैनाथ युनिफिलले सेप्टेम्बरको अन्त्यमा इजरायलले आफ्नो स्थल आक्रमण सुरु गरेदेखि धेरै घाइते भएको र आफ्ना सुविधाहरूमा क्षति भएको जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहले युनिफिल शान्ति सेनालाई ‘मानव ढाल’ का रूपमा प्रयोग गरिरहेको बताउँदै शान्ति सेनालाई फिर्ता हुन आह्वान गर्नुभयो ।

एएफपीका अनुसार इयुका विदेश नीति प्रमुख बोरेलले बार्सिलोनामा आयोजित एक मञ्चमा भन्नुभयो, “इयुले युनिफिल निगरानी र सम्बन्धित संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरूको सम्मान गर्दै नीलो रेखामा तत्काल युद्धविरामको आह्वान गरेको छ ।”

सन् २००६ को इजरायल–हिजबुल्लाह युद्धपछि सोही वर्ष सहमत भएको सुरक्षा परिषद्को प्रस्तावअनुसार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिक र लेबनानी सेना मात्र तैनाथ हुनुपर्ने थियो ।

बोरेलले युनिफिलका संरचना र कर्मचारीहरू विरुद्ध इजरायली सेनाको ‘अस्वीकार्य आक्रमण’ को निन्दासमेत गर्नुभयो ।

गाजाको मानवीय सङ्कट दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब भएको संयुक्त राष्ट्रसङ्घको चेतावनीलाई उल्लेख गर्दै बोरेलले भूमध्य क्षेत्रका नेताहरू भेला भएको मञ्चले ‘केवल चिन्ता व्यक्त गर्नु’ भन्दा बढी गर्नुपर्ने बताउनुभयो ।

“जसरी यो युद्धमा नागरिकहरूविद्ध कारवाही भइरहेको छ, त्यसले गम्भीर चिन्ता उत्पन्न भएको छ र धेरै अनुत्तरित प्रश्नहरू छोडेको छ”, उहाँले भन्नुभयो ।

गत वर्ष अक्टोबर ७ मा हमासको इजरायल विरुद्धको अभूतपूर्व आक्रमणले गाजा युद्ध शुरु भयो । यसबाट लेबनान–इजरायल सीमामा शत्रुता बढायो र इजरायल र इरान बीच पहिलो प्रत्यक्ष आक्रमणहरू भए ।

Facebook Comments