Sun. Oct 27th, 2024

पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

गण्डकी, २०८१ कात्तिक ११ गते आइतबार  । चाडपर्वको समय सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ । ‘लुकेको हिरा’का रुपमा स्थानीयबीच परिचित उक्त पदर्माग संरक्षण, प्रवर्द्धन तथा पूर्वाधार अभावमा सुनसान बनेको हो ।

बागलुङ, म्याग्दी, रुकुम पूर्व र रोल्पा जिल्लालाई समेटेर वि.सं. २०६८ मा ‘गुरिल्ला ट्रेक’को पहिचान र नक्साङ्कन गरिएको थियो । नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत निकायको पहलमा वि.सं. २०७२ मा उक्त पदमार्ग घोषणा गरिएको थियो । वि.सं. २०७३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वको चुनुवाङमा गुरिल्ला ट्रेकको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।

ट्रेकिङ एसोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटन विकासको प्रचुर सम्भावना बोकेको भएपनि प्रचारप्रसार र प्रवर्द्धन नहुँदा उक्त पदमार्ग ओझेलमा परेको बताउनुभयो । “पुराना र चल्तीका पदमार्ग नासिँदै गएको स्थितिमा गुरिल्ला ट्रेक वैकल्पिक पदमार्गका रुपमा विकास गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “यो ट्रेक गण्डकी र लुम्बिनी प्रदेशको पर्यटन विकासमा कोशेढुङ्गा बन्न सक्छ ।”

देशको एकमात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रलाई जोडेर यस क्षेत्रको प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा चिनाउनुपर्नेमा अध्यक्ष आचार्यले जोड दिनुभयो । टानसहित पर्यटन सम्बद्ध सङ्घसंस्थाले सुरुसुरुमा केही प्रवर्द्धनात्मक काम गरेपनि पछिल्लो समय कुनैपनि पर्यटकीय गतिविधि यस क्षेत्रमा हुन सकेका छैनन् । “लामो दूरी भएकाले यो ट्रेक खर्चिलो पनि छ, व्यवस्थित पूर्वाधारलगायत पर्यटकलाई चाहिने सेवासुविधा नहुँदा हामीले पर्यटक पठाउन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो ।

पहिलोपटक उक्त पदमार्ग पहिचान गर्ने टोलीमध्येका सदस्य सुरेन्द्र रानाले ‘गुरिल्ला ट्रेक’ राज्यको प्राथमिकता पर्न नसकेको बताउनुभयो । महिनौँ लगाएर पदमार्ग पहिचान गरी उतिबेलै ‘गाइडबुक’ (जानकारी पुस्तक) र ‘म्याप’ (नक्सा) तयार पारिएको उहाँले उल्लेख गर्नुभयो ।

Facebook Comments