Mon. Dec 23rd, 2024

पश्चिमी प्रभावलाई सन्तुलन गर्न ब्रिक्स शिखर सम्मेलनमा पुटिनद्वारा ग्लोबल साउथका नेताहरूको मेजबानी   

कजान (रूस), २०८१ कात्तिक ६ गते मंगलबार । चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य विश्व नेताहरू मङ्गलबार रूसको कजान शहरमा विकासशील अर्थतन्त्रहरूको ब्रिक्स गुटको शिखर सम्मेलनका लागि आइपुग्नुभएको छ । सम्मेलनलाई क्रेमलिनले पश्चिमी उदार व्यवस्थाको विरोध गर्ने केन्द्रविन्दु बनाउन खोजेको छ ।

रूसी राष्ट्रपति पुटिनका लागि तीन दिने यो सम्मेलनले युक्रेनमा रूसको कारबाहीका कारण रूसलाई एक्ल्याउने अमेरिका नेतृत्वको प्रयासहरूको असफलता देखाउने शक्तिशाली माध्यम पनि प्रदान गर्नेछ ।

क्रेमलिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभले ३६ देशको सहभागिता र २० भन्दा बढी देशका राष्ट्र प्रमुखहरूको प्रतिनिधित्वसहित यस शिखर सम्मेलनलाई ‘रूसद्वारा आयोजित सबैभन्दा ठूलो विदेश नीति कार्यक्रम’ भन्दै प्रशंसा गर्नुभयो ।

सुरुमा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका समावेश भएको यो गठबन्धनले द्रुत गतिमा विस्तार गरी इरान, इजिप्ट, इथियोपिया, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियालाई समावेश गरेको छ । टर्की, अजरबैजान र मलेसियाले औपचारिक रूपमा सदस्यता लिन आवेदन दिएका छन् र केही अन्यले सदस्य बन्न चासो व्यक्त गरेका छन् ।

पर्यवेक्षकहरूले ब्रिक्स शिखर सम्मेलनलाई पश्चिमसँगको बढ्दो तनावबीच ग्लोबल साउथको समर्थन प्रदर्शन गर्ने र आर्थिक तथा वित्तीय सम्बन्धहरू विस्तार गर्न मद्दत गर्ने क्रेमलिनको प्रयासको रूपमा हेरेका छन् ।

प्रस्तावित परियोजनाहरूमा विश्वव्यापी बैंक मेसेजिङ नेटवर्क स्विफ्टको विकल्प प्रदान गर्ने र मस्कोलाई पश्चिमी प्रतिबन्धहरूबाट बच्न र साझेदारहरूसँग व्यापार गर्न अनुमति दिने नयाँ भुक्तानी प्रणालीको सिर्जना समावेश छ ।

पुटिनले शिखर सम्मेलनको साइडलाइनमा करिब २० वटा द्विपक्षीय बैठक गर्नुहुने तय छ । यसमा चीनका सी, भारतका मोदी र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसासँगको मङ्गलबारको भेटवार्ता समावेश छ ।

शिखर सम्मेलनले सी र पुटिनबीचको नजिकको सम्बन्धलाई रेखाङ्कित गरेको छ । उहाँहरूले रूसले २०२२ मा युक्रेनमा आक्रमण गर्नुभन्दा केही हप्ताअघि ‘सीमाहीन’ साझेदारीको घोषणा गर्नुभएको थियो । मेमा बेइजिङमा र जुलाईमा काजाकिस्तानमा साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा गरी उहाँहरूबीच यस वर्ष कम्तीमा दुई पटक भेट भइसकेको छ ।

भारतको मुख्य प्रतिद्वन्द्वी चीनसँग रूसको नजिकको सम्बन्ध हुँदाहुँदै पनि शीत युद्धको समयदेखि नै भारतले मस्कोलाई परीक्षित साझेदारका रूपमा लिएका कारण रूससँग भारतको सहकार्य पनि फस्टाएको छ ।

पश्चिमी सहयोगीहरूले भारतलाई युक्रेनमा युद्ध अन्त्य गर्न मस्कोलाई मनाउन अझ सक्रिय हुन चाहेका छन् तर मोदीले रूसको निन्दा गर्नबाट बच्दै शान्तिपूर्ण समाधानमा जोड दिनुभएको छ ।

जुलाईमा रूसको भ्रमण गर्नुभएका मोदीले यो भ्रमणले दुई देशबीचको घनिष्ठ मित्रतालाई प्रतिबिम्बित गर्ने बताउनुभयो । पुटिनसँगको बैठकको सुरुमा बोल्दै उहाँले युक्रेनमा शान्तिका लागि नयाँदिल्लीको प्रयासलाई पनि पुनः पुष्टि गर्नुभयो ।

पुटिनले रूस र भारतबीचको ‘विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ को प्रशंसा गर्नुभयो ।

बिहीबार पुटिनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेट गर्नुहुने कार्यक्रम छ । गुटेरेस दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक रूसको भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँले युक्रेनमा रूसको कारबाहीको पटक–पटक आलोचना गर्नुभएको छ ।

Facebook Comments