Fri. May 10th, 2024

सङ्खुवासभामा पहिरोले बेपत्ता ११ जना अझै भेटिएनन्

काठमाडौं, २०७७ असार ३० गते मंगलबार

असार २७ गते राति सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा ९ घर पहिरोले बगाउदा ११ जना बेपत्ता भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले दुई दिनसम्म बेपत्ताहरुको खोजी गर्दा पनि भेटिएको छैन ।

केही दिनदेखि परेको भारी बर्षाका कारण गाउँ माथिबाट पहिरो गएपछि माने कुलुङ, सन्दिप कुलुङ, जुद्धबहादुर कुलुङ, गौरी राई, नगमाया, भिमबहादुर कुलुङ, शिबधन कुलुङ, हर्कधन राई र राममान कुलुङको घर पहिरोले बगाएको हो । उक्त घरसँगै राममान, हस्तीकुमारी, नम्रता, एञ्जिला, बिनिला, गोरीमाया, उत्तरकुमारी, जुद्धबहादुर, धनसंकर, आईतजिन र नजमाया कुलुङ बेपत्ता भएका हुन् ।

राति पहिरो गएपछि विहान सिसुवाटार प्रहरी चौकी र ताम्कु प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थल पुगेका थिए । बेपत्ताहरुको उद्धारको लागि जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी निरिक्षकको नेतृत्वमा उद्धार टोली पठाईएको थियो । त्यस्तै, नयाँ रणभिम गुल्म ताम्कुबाट पनि नेपाली सेनाको उद्धार टोली घटनास्थलमा खटिएका छन् । ७० जनाको सुरक्षा टोलीले लगातार खोजी गर्दा पनि बेपत्ताहरु नभेटिएको घटना स्थलमा खटिनुभएका प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिनुभयो । घर पुरिएको क्षेत्रमा खोजी गर्दा पनि बेपत्ताहरु नभेटिएकोले भेटिने सम्भावना न्युन रहेको समेत राईले बताउनुभयो ।
विस्थापितहरुलाई सिसुवाटारमा सारियो, हेलिकप्टरबाट खाद्यन्न पुर्याईयो ।

बेसिन्दा गाउँलाई नै पहिरोले बगाएपछि विस्थापित बनेका ८६ परिवारलाई सिसुवाटारमा सारिएको छ । घटना लगत्तै गाउँ माथीको चित्रे गाउँमा पुराईए पनि उक्त स्थान पनि असुरक्षित रहेको स्थानीयले गुनासो गरेपछि मंगलबार सिसुवाटारमा सारिएको हो ।

सिसुवाटारमा पुराईएकाहरुको लागि नेपाली सेनाको हेलिकप्टरबाट खाद्यन्न सामग्री पुराईएको छ । प्रदेश सरकारको पहलमा संघिय सांसद र प्रदेश सांसदहरु सहितको टोलीले सिसुवाटारमा खाद्यन्न सामग्री पुराएका हुन् । सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समेतको टोली हेलिकप्टर मार्फत घटना स्थल तर्फ गएको भएपनि मौसम प्रतिकुलताका कारण अवतरण गर्न सकेको थिएन । प्रदेश सरकारले चामल २ हजार २ सय ५० किलोग्राम, दाल ४ सय किलोग्राम, खाने तेल १ सय २० ग्राम, नुन १ सय किलोग्राम, विस्कुट ५३ थान, म्याटेस ३ रोल र त्रिपाल ५ थान उपलब्ध गराएको हो ।

विस्थापितहरुलाई पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काको टोलीले पनि राहत सामग्री उपलब्ध गराएका छन् । सिम्रिक एयरको हेलिकप्टरमार्फत् चामल, खानेपानीको पाईप, नुन तेल लगायतका सामग्रीहरु घटनास्थलमा पुर्याईएको थियो । पर्यटन व्यवसायी मिङ्मा शेर्पाले चित्रेमा रहेको अशक्त पीडितहरुलाई सिसुवाटारमा हेलिकप्टरमार्फत् पुर्याउनुभएको थियो । गोरखापत्र अनलाईनबाट

Facebook Comments