Sat. Dec 21st, 2024

मधेश प्रदेशमा बाढीबाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति

जनकपुरधाम, २०८१ असोज १४ गते सोमबार । मधेश प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । मृत्यु हुनेमा एक बालिकासमेत रहेकी छिन् । मृत्यु हुनेमा महोत्तरी र रौतहटका दुई–दुई तथा सप्तरी र सर्लाहीका एक–एकजना रहेका छन् ।

बाढीले बगाउँदा दुईजना बेपत्ता छन् भने आठजना घाइते भएका मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका कार्यालयका प्रवक्ता  तथा प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिनुभयो । बेपत्ता हुनेमा सर्लाही र पर्साका एक एकजना रहेका छन् । मधेशका आठ जिल्लामा बाढीबाट ५६ लाखको क्षति भएको छ ।

बाढीबाट नौ पशुचौपाया समेत मरेका छन् । मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–८ का १६ वर्षीय रोहित साह र बर्दिबास नगरपालिका–११ का २१ वर्षीय मानबहादुर थिङ, सप्तरीको बलान बिहुल गाउँपालिका–४ घर भई हाल राजविराज नगरपालिका–८ मा बस्दै आएका आठ वर्षीय प्रिन्सकुमार साह, रौतहटको दुर्गाभगवती गाउँपालिका–४ का ३७ वर्षीय राजकुमार मुखिया र पर्रोहा नगरपालिका–७ की १४ वर्षीया आशाकुमारी साह तथा सर्लाहीको बलरा नगरपालिका–३  लक्ष्मीपुरका  १२ वर्षीय अङ्कित ठाकुर रहेका छन् ।

यसैगरी सर्लाहीको बागमती नगरपालिका–९ का १५ वर्षीय मुकेश महतो सोती खोलाले बगाउँदा बेपत्ता भएका छन् । पर्सामा एक बालिका बेपत्ता   भएकी छिन् । आठ जिल्लामध्ये रौतहटमा तीन, सिरहामा एक, सर्लाहीमा एक तथा बारामा तीनजना घाइते भएका प्रहरी उपरीक्षक बोहोराले जानकारी दिनुभयो ।

बाढीबाट ९६ परिवारका चार सय ८८ जना विस्थापित भएका छन् । बाढीमा फसेका ३५ जनालाई उद्धार गरिएको छ । आजदेखि प्रदेशको जनजीवन सामान्य हुँदै गएको छ  ।

Facebook Comments