Wed. Dec 10th, 2025

मुस्ताङ पुग्यो सलह, गण्डकीमा क्षति न्यून, प्यूठानमा मकैबाली नष्ट

       

काठमाडौं, २०७७ असार १७ गते बुधबार

बालीनाशक कीराको रुपमा परिचित सलह (कीरा) गण्डकी प्रदेशका सबै क्षेत्रमा पुगेको छ । केही दिनअघि नेपाल प्रवेश गरेको सलहको सानो सानो झुण्ड गण्डकी प्रदेशका विभिन्न जिल्लामा पुगे पनि ठूलो क्षति भने भएको छैन । सुरुमा पाल्पासँग सीमा जोडिएको स्याङ्जाको कालीगण्डकी गाउँपालिका र गुल्मीसँग सीमा जोडिएको बागलुङको बडीगाड गाउँपालिकामा सलह देखिएको थियो ।

ठूलो सङ्ख्यामा उड्दै रुखका पातहरूमा बसेका सलहले केही ठाउँमा लगाइएको बालीमा क्षति पुर्याए पनि ठूलो क्षति नपुगेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका वरिष्ठ बाली संरक्षण अधिकृत विनोद हमालले जानकारी दिनुभयो । बालीनाशक कीराको रुपमा रहेको सलहको सानोसानो झुण्ड सबै जिल्ला प्रवेश गरेका थिए । सोमबार साँझ पर्वतको कुश्मामा केही सङ्ख्यामा सलह देखिएको थियो । उक्त झुण्ड कालीगण्डकी नदीको किनारैकिनार मुस्ताङ पुगेका छन् ।

सलहले म्याग्दीमा भर्खर रोपेको धान बाली, बागलुङको ताराखोला क्षेत्रमा बालीनालीमा सामान्य क्षति पुर्याएको जनाइएको छ । सलहको बथान बारीमा प्रवेश गरेपछि धुँवा उडाएर, थाल ठटाएर सलहलाइ बस्नै नदिएको बागलुङको काठेखोला गाउँपालिकाका रामु कँडेलले बताउनुभयो । ‘हाम्रो क्षेत्र व्यावसायिक सुन्तला खेतीका लागि प्रख्यात छ । यहाँ सुन्तलाका बोटमा सलह बस्न थालेपछि सबैले घरघरबाट निस्केर थाल, टिन ठटाउने, होहल्ला गर्ने, धुँवा उडाउने गरेर बस्नै नदिने बनायौँ ।’ कँडेलले भन्नुभयो ।

प्रदेशका स्याङ्जा, बागलुङ, नवलपुर, पर्वत, म्याग्दीमा बढी मात्रामा सलह देखिएको स्थानीयले बताएका छन् । ‘ठूलो समूहमा उड्दै सलह गाउँ पसेको छ, तर किसानले तिनलाई बोटमा बस्नै नदिने रणनीतिका साथ अगाडि बढेका छन् ।’ बागलुङको बडिगाढ गाउँपालिकाका कमल पौडेलले भन्नुभयो । सलह कीरा समूह बनाएर उड्ने भनिएपनि केही जिल्लामा सानो सङ्ख्यामा सलह प्रवेश गरेका छन् । ‘मुस्ताङमा सानो सङ्ख्यामा सलह भित्रिएको छ, यहाँ पाइने फट्याङ्ग्राभन्दा केही भिन्न प्रकारको कीरा भेटिएको छ । यसले बालीनालीमा के कति असर गर्छ भन्ने बारेमा त्यति जानकारी छैन ।’ मुस्ताङका किसान सगुन गुरुङले भन्नुभयो ।

सलहले क्षति पुर्याउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रदेशसले जिल्ला जिल्लाबाट तथ्याङ्क सङ्कलनको कामलाई अगाडि बढाइरहेको छ भने केही स्थानीय तहहरूले सलह समातेर ल्याउनेलाई पुरस्कारको समेत व्यवस्था गरेका छन् । पानी पर्न रोकियो र गर्मी बढ्यो भने सलहको झुण्ड तल भर्ने अनुमान गरिएकाले गण्डकी प्रदेशमा त्यति धेरै क्षति नहुने अनुमान गरिएको हमालले बताउनुभयो । अहिले नदी किनार क्षेत्र र जङ्गल क्षेत्रमा बढी मात्रामा प्रवेश गरेको सलह खेतीयोग्य फाँटमा प्रवेश गर्यो भने बढी क्षति हुन सक्ने भएकाले किसानहरूलाई त्यसलाई धपाउने तरिकाको बारेमा जानकारी गराउन लागिएको हमालले बताउनुभयो ।्र

गोरखापत्रका प्युठान समाचारदाता सुजल श्रेष्ठका अनुसार जिल्लामा भित्रिएको सलहले विभिन्न बालीनालीमा क्षति पुर्याएको छ । जिल्लाका विभिन्न ठाउँमा सलहले क्षति पुर्याएको किसानले बताएका छन् । सलहले बढी मात्रामा मकैबालीमा क्षति गरेको छ ।

सलहले यो पटक मकैबालीमा पूरै क्षति गर्यो, मालारानी गाउँपालिका-४ का गङ्गा श्रेष्ठले भन्नुभयो, ‘जति भगाउन खोजेपनि पूरै मकैबाली खाएर सक्यो ।’ उहाँले बिहानभर मकैमा बसेको सलह हटाउन आगो बाल्ने, थाल ठटाउने काम गरेपनि कीरा नभागेको बताउनुभयाे । ‘एक पटक बसेपछि नउड्दो रहेछ,’ उहाँले भन्नुभयो, ‘सबै बाली सक्यो ।’

माण्डवी गाउँपालिका-५ रम्दीका शङ्कर आचार्यले हुलका हुल सलह कीराले बारीको मकै नष्ट गरेको बताउनुभयो । तिग्रा, थाम, रम्दी, खैरालगायत अधिकांश क्षेत्रमा सलहले मकैबाली नष्ट गरेको उहाँको भनाइ छ । सलहले मकैबाली खाएपछि आफूसहितका कृषकहरू निराश बनेको उहाँको भनाइ छ । ‘मकैबाली राम्रो थियो,’ उहाँले भन्नुभयो, ‘तर सबै सलहले सखाप पारिदियो ।’
सलहले मकै, धान, कोदोमा क्षति गरेको गौमुखी गाउँपालिका-३ रजबाराका कृषक लालबहादुर सेनले बताउनुभयो । ‘बारीको सबै मकै खाएर सक्यो,’ उहाँले भन्नुभयो, ‘खेतमा लगाएको धानका बेर्ना, कोदोका बेर्नासमेत सलहले खायो ।’ उहाँका अनुसार गाउँमा अधिकांश क्षेत्रमा सलहले खेती नष्ट गरेको छ । गाउँले सबैले सलह धपाउने काम गरेपनि नसकेको उहाँको भनाइ छ ।
चार दिनअघि आइतबारदेखि जिल्लामा फाट्टफुट्ट देखिएको सलह पछिल्लो समय हुलका हुल प्रवेश गरिरहेको छ । यसअघि सामान्य क्षति गरेपनि पछिल्लो समय सलहले बालीनाली खाने गरेको स्थानीयले बताएका छन् ।

सलह लखेट्न कृषक खेतबारीमा
जिल्लाका सबै स्थानीय तहमा सलह पुगेको छ । सलह जिल्लाभर फैलिएपछि किसान बालीनाली जोगाउन खेतबारीमा प्रवेश गरेका छन् । उनीहरूले आगो बाल्ने, थाल ठटाउने, ठूला स्पिकर बजाउने, बाजा बजाउनेलगायत उपाय अपनाइरहेका छन् ।
‘सबै गाउँलेलाई सलह लखेट्न सुझाव दिँदैआएको छु,’ प्यूठान नगरपालिका-८ का वडा सदस्य टेकुलाल गिरीले भन्नुभयो, ‘आगो बाल्ने, थाल ठटाउने, धानखेतमा पानी भर्ने काम गर्न भन्दैआएको छु ।’ अहिले कसरी सलह लखेट्न सकिन्छ भनेर कृषकलाई उपाय दिने काम भइरहेको उहाँले बताउनुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read