Sat. Sep 28th, 2024

विपद् अपडेट : ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता   

काठमाण्डू, २०८१ असोज १२ गते शनिबार । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ ।

यसअघि साँझ ५ बजेसम्म ६६ जनाको मृत्यु भएकोमा पछिल्ला विवरण अनुसार थप २१ जनाको मृत्यु पुष्टि भएसँगै मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको हो ।

राससका अनुसार  सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु पुष्टि गर्दै अरु ७२ जना बेपत्ता रहेको राससलाई जानकारी दिनुभयो । अरु ३६ जना घाइते भएका छन् ।

उहाँका अनुसार काठमाण्डू उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाण्डूमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको हो ।

बेपत्ता हुनेमा कोशीमा नौ, मधेश प्रदेशमा एक , काठमाण्डू उपत्यकामा २१, बागमतीमा ३९ र लुम्बिनी प्रदेशमा २ जना बेपत्ता छन् ।

उपत्यकापछि सबैभन्दा बढी काभ्रेमा १४ जनाको मृत्यु भएको छ । त्यसपछि मकवानपुरमा सात, पाँचथरमा पाँच, सिन्धुपाल्चोकमा चार, दोलखामा तीन जनासहित विभिन्न जिल्लामा गरेर कूल ८७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै उपत्यकापछि सबैभन्दा बढी काभ्रेमै २६ जना बेपत्ता छन् । यस्तै पाँचथरमा पाँच, झापामा चार, सिन्धुपाल्चोकमा पाँचसहित अन्य जिल्लामा गरेर ७२ जना बेपत्ता भएका छन् । त्यसैगरी प्रहरीका अनुसार कोशीबाट ८५३, मधेश प्रदेशबाट ५६, उपत्यकाबाट १ हजार ४५७, बागमतीबाट ४९४ जनाको उद्धार गरिएको छ ।

Facebook Comments