Sat. Nov 23rd, 2024

युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता   

न्युयोर्क, २०८१ असोज १२ गते शनिबार । आसन्न अमेरिकी चुनावको सन्दर्भमा रुससँगको युद्धमा सहयोगी कियभलाई दीर्घकालीन अमेरिकी समर्थनबारे प्रश्न उठाउने क्रममा राष्ट्रपतिय उम्मेदवार एवं पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार उच्चस्तरीय वार्ता गर्नुभएको छ ।

रिपब्लिकनले बारम्बार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको रक्षा गर्दै आएका घटनाको समिक्षा गर्दै विदेश नीतिका विज्ञहरुले ट्रम्पको दोस्रो कार्यकाल युक्रेनको रक्षाका लागि विनाशकारी हुने डर व्यक्त गरेका छन् ।

जेलेन्स्कीले ट्रम्पको चुनावी प्रतिद्वन्द्वी कमला ह्यारिस र राष्ट्रपति जो बाइडेनसँग बिहीबार वासिङ्टनमा भेट गर्नुभएको थियो र दुबैले हाल सङ्कटग्रस्त युक्रेनलाई समर्थन गर्ने वाचा गर्नुभएको छ ।

ट्रम्पले यस हप्ता जेलेन्स्कीलाई द्वन्द्व अन्त्य गर्न सम्झौता गर्न अस्वीकार गरेको आरोप लगाउनुभएको थियो । उहाँले दोस्रो कार्यकाल जितेमा शान्ति ल्याउने वाचा गर्नुभएको छ ।

एएफपीका अनुसार एक घण्टाभन्दा कम समय चलेको बैठकअघि पूर्व अमेरिकी राष्ट्रपतिले जेलेन्स्कीसँगको आफ्नो गठबन्धनको प्रशंसा गर्नुभयो साथै राष्ट्रपति पुटिनसँग पनि आफ्नो सुमधुर सम्बन्ध रहेको बताउनुभयो ।

सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति जेलेन्स्कीले बैठक “धेरै उत्पादक” भएको बताउनुभएको छ ।

“मैले उहाँलाई हाम्रो विजय योजना प्रस्तुत गरें, र हामीले युक्रेनको अवस्था र हाम्रा जनताका लागि युद्धको नतिजाबारे राम्ररी समीक्षा गर्यौं”, जेलेन्स्कीले बताउनुभयो,“धेरै विवरणहरू छलफल गरियो। यो बैठकका लागि म आभारी छु। न्यायपूर्ण शान्ति आवश्यक छ ।”

जेलेन्स्की यस हप्ता संयुक्त राष्ट्र महासभाका लागि न्यूयोर्कमा आउनुभएको छ ।

युक्रेनी नेताले बिहीबार ह्वाइट हाउसमा बाइडेन र ह्यारिसलाई तथाकथित आफ्नो “विजय“ योजना प्रस्तुत गर्नुभएको थियो । बाइडेनले कियभका लागि लगभग ८ अर्ब डलरको नयाँ सैन्य सहायता घोषणा गर्नुभएको छ ।

Facebook Comments