Tue. Dec 24th, 2024

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलंका पराजित   

काठमाण्डू, २०८१ असोज ७ गते सोमबार । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै विजयी भएको छ ।

राससका अनुसार  भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ४-० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलमा तीन अङ्क जोडेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १-० गोलअन्तरले पराजित भएको थियो ।

यता दुवै खेलमा पराजित श्रीलङ्का अङ्कविहिन छ । श्रीलङ्का पहिलो खेलमा घरेलु टोली भुटानसँग ५-१ ले पराजित भएको थियो । आज नेपालको जितमा सुजन डङ्गोलले ह्याट्रिक पूरा गरे भने विज्ञान खड्काले एक गोल थपे । खेलको चार मिनेटमा सुजनको गोलमार्फत नेपालले पहिलो अग्रता लिएको थियो । त्यसपछि खेलको १२औँ मिनेटमा सुजनले गोल गर्दै आफनो टोलीको अग्रता दोब्बर बनाए ।

सुजनले खेलको ३०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि खेलको ८४औँ मिनेटमा विज्ञानले गोल गर्दै नेपाललाई ४–० को सहज जित दिलाए । नेपालले आफनो तेस्रो खेल आयोजक भुटानसँग यही असोज ९ गते खेल्नेछ ।

Facebook Comments