Mon. Apr 29th, 2024

नेपाल-चीन सीमामा अतिक्रमणसम्बन्धी समाचारबारे परराष्ट्र मन्त्रालयकाे ध्यानाकर्षण

काठमाडौं, २०७७ असार ११ गते बिहीबार

नेपाल-चीन सीमा क्षेत्रमा भएका अतिक्रमणसम्बन्धी सञ्चारमाध्यममा आएका समाचारबारे परराष्ट्र मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै समाचार कथित रुपमा कृषि तथा पशु विकास मन्त्रालयको रिपोर्टमा आधारित रहेको र त्यो मन्त्रालयले पनि त्यस सम्बन्धमा खण्डनसहित स्पष्ट गरिसकेको जनाउँदै नेपाल-चीन सीमाक्षेत्रका बारेमा यस्तो नभएको प्रष्टाएको छ । सो विषय त्यस मन्त्रालयको अधिकार क्षेत्रमा नपर्ने भएकाले तथ्य प्रामाणिक नरहेको मन्त्रालयले उल्लेख गरेको छ ।

नेपाल र चीनबीच सन् १९६१ मा भएको सीमा सन्धि र त्यसपछिका दुई देशबीच हस्ताक्षर भएको सीमाङ्कन रेखाचित्र र सीमाङ्कन गरिएको मन्त्रालयले स्मरण गराएको छ ।

सीमाक्षेत्रको ३७ र ३८ नम्बरको सीमाचिन्ह हराएको भन्ने तथ्यका बारेमा स्पष्ट पार्दै मन्त्रालयले प्राकृतिक परिस्थितिका कारण दुई देशबीच सहमतिबमोजिम निर्माण नै नभएको जनाएको छ ।

दुई देशबीच सीमासम्बन्धी कुनै पनि समस्या आएमा नेपाल सरकारले दुई देशका सम्बन्धित अधिकारीबीचको आपसी परामर्शमार्फत् समाधान गर्ने मन्त्रालयले जनाएको छ ।

गलत सूचनाले दुई मैत्री छिमेकीहरूबीचको सम्बन्धलाई प्रतिकूल प्रभाव पार्नसक्ने भन्दै मन्त्रालयले मिडियालाई यस्तो संवेदनशील विषयमा टिप्पणी गर्नुअघि सम्बन्धित निकायबाट सूचना प्रमाणीकरण गर्नसमेत अनुरोध गरेको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments