Tue. Jul 28th, 2026

‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार-२०८१’ श्रेष्ठलाई प्रदान   

       

भक्तपुर, २०८१ असोज २ गते बुधबार । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको नाममा स्थापना भएको नगद रु एक लाखसहितको ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार-२०८१’ दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ ।

वरिष्ठ पत्रकार गौतमको दोस्रो स्मृति दिवसको अवसरमा आज भक्तपुरमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले आयोजना गरेको पुरस्कार समर्पण तथा पुस्तक विमोचन समारोहमा घिमिरेलाई प्रालिका अध्यक्ष प्रदीपा गौतमले उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।

त्यसैगरी नगद रु ५० हजारसहित अर्का पत्रकार रघुनाथ घिमिरे र नगद रु ५० हजारसहित ‘जी ब्लक मेकर’ गेहेन्द्रमान अमात्यलाई उहाँले सम्मान गर्नुभयो । पुरस्कृत व्यक्तित्व श्रेष्ठले देशमा प्रजातन्त्र ल्याउन पत्रकार गौतमको ठूलो भूमिका रहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “देशमा प्रजातन्त्र ल्याउन गौतमको योगदान कम छैन, उहाँले पनि ठूलो जेल, नेल, त्याग, तपस्या र बलिदान प्रजातन्त्र प्राप्तिमा रहेको छ ।”

अर्का पुरस्कृत व्यक्तित्वहरु घिमिरे र अमात्यले पत्रकार स्व गौतमले गरेको पत्रकारिताको योगदानको चर्चा गर्दै धर्म, कर्म र मर्मअनुसार उहाँले पत्रकारिताको विकासमा योगदान पु-याएको बताउनुभयो ।

धेरै पत्रकारले पत्रकारिता पेशाबाट ठूला लाभ लिएको तर पत्रकार स्व गौतम कुनै लोभ र लाभमा नपरी निष्पक्ष, निर्भिक र निडर रुपमा पत्रकारिता गर्ने व्यक्तित्व भएको चर्चा गर्नुभयो ।

कार्यक्रममा हरेक वर्ष उहाँको स्मृतिमा पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान गर्दै पत्रकारितामा स्व गौतमको योगदानलाई जीवन्त राख्न पुरस्कार स्थापना गरिएको संस्थाका अध्यक्ष प्रदीपा गौतमले बताउनुभयो । रासस

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read