Mon. Dec 23rd, 2024

त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन   

 चितवन, २०८१ भदौ ३० गते आइतबार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार चालक यमबहादुर घलेको मोबाइल स्विचअफ छ । घटनास्थल पुगेर फर्कदैं गर्नुभएका रिजालले भन्नुभयो, “चालक सम्पर्कमा छैन, घटना शंकास्पद देखिएको छ ।” दुर्घटनाको अवस्था हेर्दा चालक नदीमा नभएर बाहिर सम्पर्कविहीन भएको हुनसक्ने उहाँको भनाइ छ ।

यातायात कार्यालयमार्फत ट्रक धनीको पहिचान गरेर चालक खोजीकार्य भइरहेको उहाँ बताउनुहुन्छ । ना ६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुरतर्फ जाँदै गरेको थियो । ट्रकमा दुई हजार दुई सय २५ कार्टुन तेल लोड गरिएको थियो । ट्रक आज बिहान सडकबाट झण्डै एक सय मिटर तल त्रिशुली किनारमा खसेको हो ।  रासस

Facebook Comments