जलवायु परिवर्तनबाट अस्ट्रेलियाका पर्यटकीय स्थलहरू खतरामा
सिड्नी, २०८१ भदौ २५ गते मंगलबार । अस्ट्रेलियाका ६८ प्रतिशत पर्यटकीय स्थलहरूले जलवायु परिवर्तनबाट ठूलो जोखिमको सामना गर्नुपर्ने एक प्रतिवेदनमा जनाइएको छ ।
जुरिच फाइनान्सियल सर्भिसेज अस्ट्रेलिया र अर्थशास्त्र परामर्श फर्म मन्डला पार्टनर्सद्वारा प्रकाशित अस्ट्रेलियाको पर्यटन उद्योगका लागि पहिलो जलवायु जोखिम सूचकाङ्कमा राष्ट्रिय निकुञ्ज, सङ्ग्रहालय, विमानस्थल र समुद्र तटहरूसहित अस्ट्रेलियाको आधा पर्यटन सम्पत्तिहरू हाल आगलागी जस्ता जलवायु जोखिमहरूबाट संवेदनशील रहेको उल्लेख छ ।
जलवायु परिवर्तन जारी रहेकाले जोखिममा रहेका पर्यटकीय स्थलहरूको अनुपात ५५ देखि ६८ प्रतिशतसम्म पुग्ने प्रतिवेदनले जनाएको छ ।
चरम विश्वव्यापी तापक्रम परिदृश्यअन्तर्गत औसत तापक्रम पूर्व-औद्योगिकस्तर भन्दा तीन डिग्री सेल्सियसले बढ्दा अस्ट्रेलियाका ८० प्रतिशत पर्यटक स्थलले जोखिममा वृद्धि अनुभव गर्ने सूचकाङ्कले अनुमान गरेको छ ।
अस्ट्रेलियाका सबै ३१ व्यस्त विमानस्थलहरू तूफान र आँधीको सम्पर्कका कारण दुई उच्च जलवायु जोखिममा आउने र यसमा ९४ प्रतिशत सबैभन्दा चरम जोखिम श्रेणीमा पर्ने प्रतिवेदनले जनाएको छ
उत्तरपूर्वी राज्य क्विन्सल्यान्डमा ७९ प्रतिशत पर्यटन स्थलले उच्च जलवायु जोखिमको सामना गरिरहेको र ५२ प्रतिशत उच्च जोखिमको श्रेणीमा छन् । सिन्ह्वा