Mon. Sep 23rd, 2024

सन् २०२२ देखि युक्रेनमा क्लस्टर बम विस्फोटमा एक हजारभन्दा धेरैजनाको मृत्यु

जेनेभा, २०८१ भदौ २५ गते मंगलबार । रुसले युद्ध सुरु गरेपछि युक्रेनमा क्लस्टर हतियारहरूबाट एक हजारभन्दा धेरै मानिस मारिएको वा घाइते भएको एउटा निरीक्षण संस्थाले सोमबार बताएको छ । संस्थाले सबै मुलुकसँग क्लस्टर हतियारमाथि प्रतिबन्ध लगाउन आग्रह गरेको छ ।

सन् २०२२ फेब्रुअरीमा रुसले आफ्नो छिमेकी मुलुक युक्रेनमा पूर्णस्तरको आक्रमण सुरु गर्दा युक्रेनले विश्वमा सबैभन्दा बढी रेकर्ड गरिएको वार्षिक क्लस्टर हतियार हताहतको सङ्ख्या दर्ता गरेको क्लस्टर म्युनिसन कोलिसन (सिएमसी) ले आफ्नो वार्षिक प्रतिवेदनमा भनेको छ ।

युक्रेनमा दुवै पक्षबाट क्लस्टर बमको प्रयोग गरिएको र युद्ध सुरु भएपछि हतियारबाट त्यहाँ एक हजारभन्दा बढी मानिस मारिएको वा घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।

सबैभन्दा धेरै मृत्यु सन् २०२२ मा दर्ता भएको थियो । यद्यपि प्रतिवेदनले सन् २०२३ को आँकडा सम्भवतः नाटकीयरूपमा कम अनुमान गरिएको बताएको छ ।

मध्य हावामा विस्फोट गर्न वा व्यापक क्षेत्रमा बम छर्नुअघि क्लस्टर हतियारहरूलाई विमानबाट खसाउन सकिन्छ वा तोपखानाबाट प्रहार गर्न सकिन्छ ।

क्लस्टर हतियारले स्थायी खतरा निम्त्याउँछ किनकि धेरै क्लस्टर हतियार विस्फोट नहुन सक्छन् र प्रभावकारी रूपमा वर्षौंपछि विस्फोट हुने बारुदी सुरुङका रूपमा काम गर्दछ ।

युक्रेनमा अहिले धेरै कृषि भूमि बारुदी सुरुङको तुलनामा क्लस्टर हतियारका अवशेषहरूले दूषित भएको प्रतिवेदनमा उल्लेख छ ।

युद्धअघि युक्रेनले धेरै वर्षसम्म क्लस्टर हतियारबाट कुनै हताहत दर्ता गरेको थिएन । तर सन् २०२२ मा यो सङ्ख्या नौ सय १६ भएको रेकर्ड गरियो र गत वर्ष विश्वभरमा दर्ता गरिएका दुई सय १९ मृत्युमा करिब आधा युक्रेनमा भएको थियो ।

“हताहत हुनेहरूको वास्तविक सङ्ख्या उल्लेखनीय रूपमा बढेको विश्वास गरिन्छ”, सिएमसीले चेतावनी दिएको छ ।

रुस र युक्रेन दुवैले क्लस्टर हतियारको प्रयोग जारी राखेकाले आक्रमण वा हताहतका लागि कुन पक्ष जिम्मेबार थियो भन्नेबारे व्यवस्थित रूपमा दस्तावेजीकरण गर्न वा बताउन असम्भव भएको प्रतिवेदनमा भनिएको छ ।

रुस र युक्रेन जस्ता मुलुकहरूले क्लस्टर हतियारको प्रयोग, उत्पादन वा हस्तान्तरणले उनीहरूमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाउने अन्तर्राष्ट्रिय प्रयासलाई कमजोर बनाएको प्रतिवेदनमा बताइएको छ ।

क्लस्टर बमको प्रयोग, स्थानान्तरण, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाउने सन् २००८ को क्लस्टर युद्धक सम्झौताको पक्षमा रहेका एक सय १२ मुलुकमा कुनै पनि मुलुक छैनन् ।

“क्लस्टर हतियारमाथि प्रतिबन्ध नलगाउने मुलुकहरूको कारवाहीले नागरिकहरूलाई खतरामा पारिरहेको छ र यो घृणित हतियारलाई प्रतिबन्ध लगाउने अन्तर्राष्ट्रिय सन्धिको अखण्डता र सार्वभौमिकतालाई खतरामा पारिरहेका छन्”, सिएमसीका प्रमुख तामार ग्याबेलनिकले भन्नुभयो ।

गत वर्ष क्लस्ट हतियार आक्रमणहरू दर्ता गरिएका अन्य दुई मुलुक म्यान्मा र सिरिया पनि सम्झौतामा सहभागी भएका छैनन् ।  एएफपी

Facebook Comments