Sat. Oct 26th, 2024

सी चिनफिङद्वारा संयुक्त राष्ट्र संघका महासचिवसँग भेटवार्ता

काठमाण्डू, २०८१ भदौ २१ गते शुक्रबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेससँग भेट गर्नुभएको छ ।

चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलनमा भाग लिन चीन पुग्नुभएका महासचिव गुटेरेससँग राष्ट्राध्यक्ष चिनफिङले जनबृहत सभा भवनमा हिजो (बिहीबार) भेटवार्ता गर्नुभएको हो ।

भेटवार्तामा सी चिनफिङले चीन-अफ्रिका सम्बन्धको विकासलाई चीनले ठूलो महत्त्व दिएको कुरा बताउनुभयो। अफ्रिका लगायत विश्वभरका मानिसहरूले सुखी जीवन बिताउन सक्छन् भन्ने आशा राख्दै आफूले मानवजातिको साझा भविष्य भएको समुदाय निर्माण गर्ने प्रस्ताव गरेको भन्दै अफ्रिकालाई शान्ति, स्थायित्व, विकास र पुनरुत्थान प्राप्त गर्न संयुक्त राष्ट्र संघले संयुक्त रूपमा मद्दत गर्ने उहाँले बताउनुभयो। सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको सान्दर्भिक अवस्था र वर्तमान विश्व अवस्थाबारे आफ्नो धारणा प्रस्तुत गर्दै चिनियाँ शैलीको आधुनिकीकरणले विश्वलाई थप नयाँ अवसरहरू प्रदान गर्ने कुरामा जोड दिनुभयो।

महासचिव गुटेरेसले अफ्रिकासँगको चीनको सहयोगले अफ्रिकालाई शान्ति र विकास हासिल गर्न मद्दत गर्ने बताउनुभयो। चीनको शान्तिपूर्ण विकास सम्पूर्ण मानवजातिको शान्ति र प्रगतिका लागि अनुकूल छ। संयुक्त राष्ट्रसंघले विश्वव्यापी शासनलाई अझ न्यायोचित र व्यावहारिक दिशामा प्रवर्द्धन गर्न र मानवजातिको साझा भविष्य भएको समुदाय निर्माण गर्न चीनसँगको सहकार्यलाई सुदृढ गर्न इच्छुक छ। सीएमजी

Facebook Comments