Wed. Jan 8th, 2025 02:57:20

चाडका राष्ट्रपतिसँग सी चिनफिङको भेटवार्ता

काठमाण्डू, २०८१ भदौ १८ गते मंगलबार । सेप्टेम्बर ३ तारिख बिहान, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा चीन-अफ्रिका सहयोग मञ्च (एफओसीएसी) शिखर सम्मेलनमा भाग लिन आउनुभएका चाडका राष्ट्रपति मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्नुभएको छ। भेटमा दुवै देशका राष्ट्रप्रमुखले चीन-चाड सम्बन्धलाई रणनीतिक साझेदारी सम्बन्धमा उकास्ने घोषणा गर्नुभएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सीले चीन र चाड दुबै मुलुकले बेल्ट एण्ड रोड अवधारणा र चीन-अफ्रिका सहयोग मञ्चको प्रारुपभित्र रहेर पारस्परिक लाभप्रद सहयोगलाई सक्रियताका साथ अघि बढाउँदै फलदायी परिणाम हासिल गरिरहेको उल्लेख गर्नुभयो। दुई पक्षबीचको व्यावहारिक सहयोगले दुई देशका जनताको हित-कल्याणलाई बढाउँदैआएको पनि जनाइएको छ। चीन-अफ्रिका मित्रता र सहयोगको भावनालाई कायम राख्न, विकास रणनीतिको तालमेललाई मजबुत बनाउन र चीन-चाड सम्बन्धमा नयाँ प्रगतिलाई हासिल गर्न सँगै मिलेर काम गर्न चीन तयार रहेको पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।

सो क्रममा चाडका राष्ट्रपति मोहम्मदले चीनको विकास उपलब्धिको प्रशंसा गर्दै राष्ट्राध्यक्ष सी चिनफिङले अघि सार्नुभएका प्रमुख विचार र पहलहरूको सराहना गर्नुभयो। साथै उहाँले चीनको दिगो विकासले चाड, अफ्रिका र विश्वको विकासका लागि थप अवसरहरू ल्याउने विश्वास पनि व्यक्त गर्नुभयो।

शिखर सम्मेलनको क्रममा चीन र चाडले विश्व विकास प्रस्ताव, मानव संसाधन विकास तथा सहयोग, चीनमा बदाम र तिलको निर्यात र मिडिया क्षेत्रमा द्विपक्षीय सहयोगका सम्झौताहरूमा हस्ताक्षर गर्ने जनाइएको छ। सीएमजी

Facebook Comments