Sun. Dec 22nd, 2024

सार्वजनिक सवारीसाधन सुचारु गर्न थप छलफल सुरु

काठमाडौं, २०७७ असार १ गते सोमबार

सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका निर्माण गरे पनि व्यवसायीको असहमतिले जारी गर्न सकेको छैन । कोरोनाको बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै विभागले सार्वजनिक सवारी सञ्चालन गर्न निर्देशिका निर्माण गरेको थियो तर व्यवसायीले विरोध गरेपछि विभाग र व्यवसायीबीच उपसमिति बनाएर वार्ता तथा छलफल भइरहेको छ ।

नयाँ निर्देशिका कारोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्न तयार गरिएको विभागले जनाएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले भन्नुभयो, “सार्वजनिक यातायातमा कोरोनाबाट सुरक्षित रहन प्राविधिक मापदण्ड बनाएको हो, सरोकारवालासँग छलफल भइरहेको छ । ” सार्वजनिक सवारी सञ्चालन सामाजिक दूरी कायम हुनेगरी गर्नुपर्नेछ । जसमा पहिलाजस्तै सबै सिटमा यात्रु राख्न पाइने छैन । मास्क, पन्जा तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरिने छ ।

तर विभागले तयार गरेको निर्देशिकाअनुसार व्यवसायीले सवारी सञ्चालन गर्न अस्वीकार गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सामाजिक दूरी कायम गर्न बसमा आधा मान्छे लिएर गुडेपछि आफूहरूको खर्चसमेत नउठ्ने जनाएको छ । सरकारले भाडा वृद्धि गर्नुपर्ने वा कुनै अनुदानको व्यवस्था गर्नुपर्ने महासङ्घको माग छ ।

महासङ्घका महासचिव सरोज सिटौला भन्नुहुन्छ, “विभागले बनाएको निर्देशिकाको आधारले गाडी चल्न सक्दैन, मजदुर र यात्रुको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी हुनुपर्यो, ३० सिटको गाडीमा १५ जना लिएर हिँड्दा खर्च पनि उठ्दैन, साना सवारी ट्याक्सी, ट्याम्पोको सवालमा के गर्ने, उनीहरूलाई अनुदान दिनुपर्यो , लगानीको सुरक्षा हुनुपर्यो । ” सरकारले पहिलो दोस्रो र तेस्रो चरण गरी बिस्तारै बन्दाबन्दी खुला गर्दै जाने निर्णय गरेको छ । सोहीअनुसार विभागले सार्वजनिक यातायात सुचारु गर्ने तयारी थालेको हो । गोरखापत्र अनलाईनबाट

Facebook Comments