Sun. Oct 27th, 2024

अफगानिस्तानी सदाचार कानुनप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त   

काबुल, २०८१ भदौ ९ गते आइतबार । अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगले तालिबानले हालै पारित गरेको सदाचारसम्बन्धी कानुनप्रति ‘चिन्तित’ रहेको बताएको छ ।

तालिवान अधिकारीहरूले बुधबार इस्लामी कानूनको कडा व्याख्याको आधारमा व्यापक व्यवहार र जीवनशैलीबारे प्रतिबन्धहरूको वर्णन गर्दै ३५ धाराहरू थप गरी कानूनको संशोधन गरेको घोषणा गरेका थिए ।

कानूनमा व्यवस्था भएका धाराहरूको उल्लङ्घन गरेमा मौखिक चेतावनीदेखि, जरिवाना र हिरासतसम्मको प्रावधानको घोषणा सदाचार मन्त्रालय अन्तर्गतका नैतिकता अधिकारीले गरेका हुन् ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय सहायता नियोग (यूएनएएमए) का प्रमुख रोजा ओतुनबायेभाले भन्नुभयो, “यो अफगानिस्तानको भविष्यका लागि एक कष्टप्रद दृष्टिकोण हो । यहाँ नैतिक निरीक्षकहरूले उल्लङ्घनको विस्तृत र कहिलेकाहीं अस्पष्ट सूचीको आधारमा कसैलाई धम्की दिने र हिरासतमा राख्ने ‘विवेकपरक’ अधिकार छ ।”

“दशकौंको युद्धपछि र भयानक मानवीय सङ्कटका बीच अफगानी जनता प्रार्थनाका लागि ढिला भएमा, परिवारको सदस्यभन्दा बाहिरको विपरीत लिङ्गीलाई हेरेमा वा प्रियजनको फोटो राखेमा कारबाही व्यहोर्ने वा जेल जानुपर्नेछ,” ओटुनबायेभाले भन्नुभयो ।

सन् २०२१ को अगष्टमा तालिवान सत्तामा फर्किएदेखि नै कानुनका धेरै बुँदाहरू अनौपचारिक रूपमा लागू भइसकेका छन् र तालिवानले औपचारिक कानुनी संहितालाई कडाइका साथ लागू गर्नेछ वा गर्नेछैन भन्ने स्पष्ट छैन ।

‘लैङ्गिक विभेद’ को संज्ञा दिएको प्रतिबन्धका कारण महिलाहरू सार्वजनिक जीवनबाट वञ्चित भएका संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

ओतुनबायेभाले भन्नुभयो, “यो कानूनी संशोधनपछि पहिले नै असहनीय प्रतिबन्धहरू विस्तार गरेको तालिवान प्रशासनद्वारा लगाइएका अफगान महिला र बालिकाहरूको अधिकार, घर बाहिर महिलाको आवाजको अधिकारलाई पनि नैतिक उल्लङ्घन मानिएको छ ।”

कानुनअनुसार महिलाले घरबाट बाहिर निस्कँदा आफ्नो अनुहार र शरीर छोप्नुपर्छ र आफ्नो आवाज नसुनिएको सुनिश्चित गर्नुपर्छ ।

संयुक्त राष्ट्रसङ्घले कानूनमा धार्मिक र प्रेस स्वतन्त्रतामाथिको प्रतिबन्धप्रति पनि चिन्ता व्यक्त गरेको छ । कानूनमा मिडियाले ‘शरिया कानून र धर्मको प्रतिकूल सामग्री’ प्रकाशन गर्न बन्देज लगाएको छ ।

यद्यपि, कानूनमा केही सकारात्मक धाराहरू पनि समावेश भएका छन् । अनाथ र केटाकेटीलाई खेलौनाको रूपमा व्यवहार गर्नबाट प्रतिबन्ध लगाइएको छ ।

अफगानिस्तानमा वृद्ध पुरुषहरूले केटाहरूलाई केटीहरूको रूपमा लुगामा सजाएर उनीहरूको यौन शोषण गर्ने गरेको पनि सुनिने गरिएको छ । एएफपी

Facebook Comments