Sat. Oct 26th, 2024

‘वाल क्लाइम्बिङ’ प्रतियोगितामा तामाङ र ढुङ्गेल प्रथम   

काठमाण्डू, २०८१ भदौ ९ गते आइतबार ।  पन्ध्र मिटर उचाइको वाल क्लाइम्बिङ प्रतिस्पर्धामा पुरुषतर्फ भीमबहादुर तामाङ र महिलातर्फ सपना ढुङ्गेल प्रथम हुनुभएको छ ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानद्वारा हिजो  आयोजित खुल्ला वाल क्लाइम्बिङ प्रतियोगिता (शीर्ष डोरी संस्करण)मा तामाङले ३६ मिनेट ६९ सेकेन्ड र ढुङ्गेलले ५५ मिनेट ३७ सेकेन्ड समयमा उचाइ चढ्दै प्रथम स्थान हासिल गर्नुभएको हो । धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानमा आयोजित प्रतियोगितामा पुरुषतर्फ ५७ र महिलातर्फ २३ जनाले सहभागिता जनाउनु भएको थियो । प्रतिष्ठानको स्पोर्टस कमिटीले आयोजना गरेको प्रतिस्पर्धामा छिरिङ राई द्वितीय, विजय श्रेष्ठ तृतीय, विशाल भट्ट चौथो र आशिष हेम्बाले पाँचौँ स्थान हासिल गर्नुभयो । प्रथम स्थान हासिल गर्न सफल तामाङलाई नगद रु चार हजारसहित पुरस्कृत गरिएको छ ।

यस्तै, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गर्ने विजेतालाई क्रमशः रु तीन हजार, रु दुई हजार, रु एक हजार पाँच सय र रु एक हजार नगदसहित पुरस्कृत गरिएको हो । महिलातर्फ प्रथम ढुङ्गेललाई रु चार हजार नगदसहित पुरस्कृत गरिएको छ । यस्तै, जस्मिन कार्की द्वितीय, सरस्वती खडका तृतीय, निर्मला भट्ट चौथो र बिनु राई पाँचौँ स्थान हासिल गर्न सफल हुनुभयो । उहाँहरूलाई क्रमशः रु तीन हजार, रु दुई हजार, रु एक हजार पाँच सय र रु एक हजारसहित पुरस्कृत गरिएको थियो ।

प्रतियोगिताका इन्चार्ज सुस्मिता श्रेष्ठले पर्वतारोहण विषयमा स्नातक अध्ययनबारे थप जानकारी दिँदै अध्ययनका लागि प्रोत्साहन गर्नेे उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई लक्षित गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगिताको निर्णायक एवं प्रशिक्षक लाक्पा शेर्पाले उचाइसम्म पुग्न लाग्ने समय र प्वालमा समातेको स्कोरका आधारमा अंश प्राप्त हुने जानकारी दिनुभयो । नेपाल आरोहण खेल सङ्घका उपाध्यक्षसमेत रहनुभएका शेर्पाले वाल क्लाइम्बिङ एवं चट्टान आरोहण खेल मनोरञ्जन र व्यवसायका रुपमा पनि सम्भावना बोकेको खेल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको भौगोलिक अवस्थितिअनुसार यो महत्वपूर्ण सम्भावना बोकेको साहसिक खेल हो । ओलम्पिकमा समेत समावेश गरिएकाले यस खेललाई नयाँ युवापुस्तालाई साहसिक खेलमा सहभागी गराउँदै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउँछ ।”  रासस

Facebook Comments