Tue. Apr 30th, 2024

संसद्मा प्रधानमन्त्रीको जवाफ ‘कब्जा भूमि फिर्ता लिन्छौं’

काठमाडौं, २०७७ जेठ २९ गते बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयकका पक्षमा सबै दल एकै ठाउँमा उभिनु सुखद भएको बताउनुभएको छ । संविधान संशोधन विधेयकका पक्षमा सदनमा असाधारण एकता र राष्ट्रियता देखिएको बताउनुहुँदै उहाँले राष्ट्रियता, मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डताजस्ता विषयमा जनप्रतिनिधि एकै ठाउँमा उभिनु सुखद भएको बताउनुभयो । सदनमा विधेयकका पक्षमा जनभावना मुखरित भएको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकको भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न सबै अडिग हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “आज देशलाई राष्ट्रिय एकताको आवश्यकता परेको छ । सहमतिका साथ अगाडि बढ्नु आवश्यक छ र राष्ट्रियताको सवालमा होस् वा भूमि फिर्ताको सवालमा होस् । अरू विषयमा पनि राष्ट्रको हितमा एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता छ । कोरोनाको विरुद्धमा पनि हामी सँगै लड्नुपर्छ । सामाजिक अस्तित्वका लागि पनि हामी एक ठाउँमा हुनुपर्छ । यो आजको आवश्यकता हो । सरकारको तर्फबाट लचिलोपन तथा फराकिलोपन देखाउन सहमति र सहकार्यका लागि तत्पर रहेको जानकारी गराउँछु । जुन एकता र समझदारी देखिएको छ । म सबै दललाई धन्यवाद दिन चाहन्छु ।”

उहाँले सीमा विवाद र नक्सा जारीका विषय श्रेय लिने र देवत्वकरण गर्ने नभएको पनि बताउनुभयो । विवादका विषय समय समयमा भइरहेको र विज्ञबाट पनि अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । सम्पूर्ण सदनको प्रयासका रूपमा बुझ्न पनि प्रधानमन्त्रीको आग्रह छ ।

भारतले सेना राखेर नै नेपाली भूभाग कब्जा गरेको उल्लेख गर्नुहुँदै उहाँले भारतको प्रक्रिया उचित नभएको भनेर तथ्य प्रमाणका आधारमा फिर्ताको माग गरिरहेको पनि बताउनुभयो । कूटनीतिक वार्ताका माध्यमबाट भूमि फिर्ताको पहल भइरहेको र विवादको निरुपण नै नेपालले भूमि फिर्ता पाउनु रहेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “राष्ट्रियता र राष्ट्रिय हितका मामिलामा अहिलेको सरकारमाथि शङ्का गर्नुपर्ने कुनै कारण छ र ? अहिलेको सरकार लहलहैमा कुदेको छैन । जो राष्ट्र र देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको पक्षमा छ । अध्ययन गरेर, हेरेर, जानेर, बुझेर, आग्रह–पूर्वाग्रहबिना निष्कर्षमा पुग्दछ र दृढताका साथ उभिन्छ । भारतले नक्कली काली नदी, एउटा तिरतिरे खोल्सो र आहाल देखाएर भूमि कब्जा गरेको छ । अन्यत्र यसरी कब्जा भएको छैन । तथ्यले अन्य भूभाग पनि हाम्रो देखिने अवस्था आएमा हामी वार्ता गर्छौं । सुस्ताका सम्बन्धमा पनि वार्तामा छौँ । सुस्ता र कालापानीका विषय फरक हुन् ।”

नेपाल भारत विज्ञ समूह (ईपीजी)का प्रतिवेदन दुवै देशले नबुझ्दासम्म अधुरो हुने उहाँको भनाइ छ । सर्तअनुसार भारतले प्रतिवेदन पहिले बुझ्ने भनिए पनि बुझ्न इन्कार गरिरहेको बताउनुहुँदै उहाँले प्रतिवेदन बुझ्न दुई वर्षदेखि भारतको रुचि नदेखिनुले असहज भएको बताउनुभयो । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको अभिव्यक्तिमा पनि प्रधानमन्त्रीले आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, “आदित्यनाथले यदि त्यस्तो बोल्नुभएको हो भने जायज हैन । नेपाललाई धम्क्याउन खोज्नुभएको हो भने उचित हैन । अहिले यति भनौँ, केन्द्रीय सरकारको निर्णायक व्यक्ति नभएको तर मुख्यमन्त्रीका हैसियतले बोल्नुभएको हो भने नबोलिनु पथ्र्यो । धम्की दिनुभएको हो भने निन्दनीय विषय हो । नेपाल माथिको अवहेलनाका रूपमा हामी त्यसलाई बुझ्छौँ । नेपाल हेपिन तयार छैन र हामी मान्दैनौँ भन्ने कुरा योगीजीलाई स्मरण गराउन चाहन्छु ।”

‘मातहत कार्यालय प्रभावकारी’
यस्तै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालय मातहत ल्याइएका कार्यालयहरूको प्रभावकारिता राम्रो भएको बताउनुभयो । यस्ता निकायको प्रभावकारी परिचालनबाट देशमा सुशासन र विकास सही रूपमा लैजाने उद्देश्य मात्र भएको प्रधानमन्त्रीको भनाइ छ । सरकारले राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्र र सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएको थियो । ती कार्यालयको प्रभावकारिता बढेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।

उहाँले नीति कार्यक्रम र बजेट कोभिड–१९ बाट प्रभावित रहेको बत(ाउनुभयो । यसबाट पृथक् रहेर नीति कार्यक्रम, बजेट र अन्य गतिविधि गर्न नसकिने बताउनुहुँदै उहाँले विश्वको अर्थतन्त्र, समाज र मानवको जीवनमा नै कोरोनाले सङ्कट सिर्जना गरेको बताउनुभयो । यो परिस्थितिको सामनाका लागि सरकारले सुरुआतदेखि नै गम्भीरतापूर्वक लिएको उल्लेख गर्नुहुँदै उहाँले विकसित राष्ट्र प्रतिकूल रूपमा आक्रान्त भएको पनि स्मरण गराउनुभयो ।

‘व्यवस्थापन सहज थिएन’
क्वारेन्टाइन व्यवस्थापन सस्तो, सहज र सरल कुरा नभएको प्रधानमन्त्रीको भनाइ छ । महामारीले सत्तापक्ष वा प्रतिपक्ष नछुट्याउने भन्दै उहाँले यो साझा विषय भएको बताउनुभयो । कुन किट प्रयोग गर्ने वा नगर्ने भन्ने विषय राजनीतिक विषय नभएको भन्नुहुँदै प्रधानमन्त्री ओलीले प्राविधिक विश्लेषणबाट यसको प्रयोग हुने बताउनुभयो ।

लाखौँको सङ्ख्यामा विदेशमा गएका नागरिक फर्किरहेको अवस्थामा हाम्रो अहिलेको सामथ्र्यले अबको समस्या समाधान नहुने उहाँको भनाइ छ । कृषिको आधुनिकीकरण, व्यावसायिकीकरण र साना तथा घरेलु उद्योगको सञ्चालन आवश्यक रहेको बताउनुहुँदै उहाँले सोचेजस्तो सहज रूपमा यी काम एकसाथ अगाडि बढ्न सहज नभएको बताउनुभयो ।

पीसीआर किन हुन सकेन ?
कतिपय अवस्थामा प्रविधि र जनशक्तिका कारण पनि अपेक्षाकृत परीक्षण हुन नसकेको उहाँको भनाइ छ । परीक्षणको दायरा बढाउन सरकारले पीसीआर मेसिन थप गर्ने तयारी भइरहेको बताउनुहुँदै उहाँले सरकार नागरिकका समस्या सम्बोधन गर्न प्रयासरत रहेको बताउनुभयो । अकस्मात रूपमा आएको समस्या इच्छाशक्तिसँग मात्र नभई पुँजी र धेरै प्रक्रियासँग पनि सम्बन्धित भएकाले कठिनाइ भएको उहाँको भनाइ छ ।
विभिन्न खरिद प्रक्रियामा भएका भनिएका अनियमिततामा दोषी पाइए जो कोहीलाई पनि कारबाही हुने बताउनुहुँदै उहाँले कतिपय अवस्थामा भने लाञ्छना लगाउने प्रवृत्ति मात्र भएको टिप्पणी गर्नुभयो । उहाँले कोरोना रोकथाम नियन्त्रणका लागि भएको खर्च पारदर्शी भएको र अहिले लेखापरीक्षणभन्दा कोभिड नियन्त्रणमा जुट्ने समय भएको जवाफ दिनुभयो ।

स्थानीय स्तरबाट कोभिड नियन्त्रणका लागि भएका प्रयासको प्रशंसा गर्नुहुँदै उहाँले भन्नुभयो, “त्यसको आफ्नै प्रणाली छ । अहिले तीन तहमा सरकार छन् । दिनैपिच्छे लेखापरीक्षण हुँदैन, अहिले कामका बेला लेखा परीक्षणमा केन्द्रित गर्नु पनि छैन । काममा बढी केन्द्रित हुनुपर्छ । यस्तो परिस्थितिमा अविश्वासबाट काम थाल्नुपर्ने अवस्था पनि छैन । प्रदेश र स्थानीय तहले भ्रष्टाचार गरे नै होलान् भनेर आशङ्का गर्नुपर्ने अवस्था पनि छैन । सरकारका कामकारबाहीको हिसाब हुन्छ । त्यो महालेखा परीक्षकको प्रतिवेदन वार्षिक रूपमा आउँछ । रुजु बेरुजु पनि आउँछ । आन्तरिक लेखा परीक्षणको हिसाब आउँछ । अहिले हिसाबको चिन्ता नगरौँ । कोभिडको चिन्ता गरौँ । ”

८५ प्रतिशत सङ्क्रमित भारतबाट
प्रधानमन्त्रीले हाल नेपालमा भेटिएका कोरोना सङ्क्रमितमध्ये ८५ प्रतिशत भारतबाट आएका बताउनुहुँदै थप सङ्क्रमित पनि भारतबाटै आएका हुने बताउनुभयो । नेपालमा क्वारेन्टाइनको प्रबन्ध उचित नभएर भन्दा पनि भारतबाट आउने क्रमको असुरक्षित यात्रा रहेको उहाँको भनाइ छ । सङ्क्रमणबाट निको हुनेको सङ्ख्या धेरै राम्रो भएको उहाँको भनाइ छ ।
कोरोनाका कारणले मात्र १५ जनाको मृत्यु नभएको प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो । सङ्क्रमित र मृत्युदर हेर्दा नेपालीको रोग प्रतिरोधी क्षमता र उपचार प्रणाली राम्रो भएको उहाँको भनाइ छ । नेपालीको दैनिक खानपान र दैनिकीका कारण पनि प्रतिरोधी क्षमता बढी रहेको प्रधानमन्त्रीले बताउनुभयो ।

गृहको भूमिका खोसिएको छैन
विपद् व्यवस्थापन प्राधिकरण हुँदाहुँदै अन्य व्यवस्था किन गर्नुप¥यो भन्ने तर्क गलत भएको प्रधानमन्त्रीको भनाइ छ । उच्चस्तरीय समन्वय समिति विशेष व्यवस्था अन्तर्गत बनेको पनि उहाँको प्रस्टीकरण छ । स्थायी संरचना र विशेष व्यवस्थाको कामकारबाही र प्रकृतिमै भिन्नता रहेको बताउनुहुँदै उहाँले सिङ्गो राज्य कोभिडविरुद्ध परिचालन भएको अवस्थामा राज्यकै अङ्ग सेना परिचालन हुनु अन्यथा नरहेको बताउनुभयो । कोभिडमा गृह मन्त्रालयको कुनै पनि भूमिका नखोसिएको प्रधानमन्त्रीको भनाइ छ ।

व्यापारिक स्वार्थमा भन्सार हेरफेर गरिएको भन्ने तर्क गलत भएको बताउनुहुँदै उहाँले कहीँ कतै अनियमितता र अनुचित भएमा कारबाही हुने बताउनुभयो । उहाँले एमसीसीमा वर्तमान सरकारले अन्थया निर्णय नगरेसम्म अविछिन्न दायित्वका रूपमा नै लिइने बताउनुभयो । बजेट समानुपातिक वितरण भएको पनि बताउनुहुँदै उहाँले रुकुम पश्चिम घटनाका दोषीलाई कानुनबमोजिम कारबाही हुने प्रतिबद्धता जनाउनुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments