Sun. Dec 22nd, 2024

घिमिरे वंशावली सार्वजनिक

काठमाडौं, २०७७ जेठ २८ गते बुधबार

घिमिरे वन्धुहरूको वंशावली ‘घिमिरे वंशावली’ सार्वजनिक भएको छ ।

उक्त वंशावली कवि तथा अन्वेषक रञ्जन घिमिरेले खोज-अनुसन्धान गरि तयार पार्नुभएको हो । यसअघि ‘मूच्र्छित स्वरहरु’ नामक कविताकृति बजारमा ल्याईसक्नु भएका घिमिरेको यो दोस्रो कृति हो । कोरोना भाइरसका कारण मुलुक लकडाउनमा भएका बखत पनि स्रष्टा घिमिरेले आफ्ना पुर्खा र पुख्र्यौली थातथलोको निम्ति केही गरौँ भन्ने भावनाले धेरै अगिदेखि थालेको कामलाई पूर्णता दिएको बताउनु भयो ।

घिमिरेका कीर्तिशेष पिता समाजसेवी होमनाथ घिमिरेको दोस्रो स्मृति दिवसका अवसर पारेर प्रकाशनमा ल्याएको उक्त वंशावली लकडाउनका कारण कार्यक्रम र जमघट गर्न सक्ने अवस्था नभएपछि पारिवारिक जमघटकाबीच कृति प्रकाशक तथा माता वेदकुमारी घिमिरेबाट २३ जेठ गते शुक्रबार सार्वजनिक गरिएको थियो । ‘यो वंशावली आफ्ना पितापुर्खाप्रतिको सम्मान हो, त्यही कर्म मैले गरेँ, त्यसमाथि पनि आफ्नै आमाबाट कृति सार्वजनिक हुनु मेरा लागि ठूलै सौभाग्य हो’ घिमिरेले भन्नु भयो ।

उक्त वंशावलीको अग्रभागमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरेको शुभकामना मन्तव्य रहेको छ भने पछिल्लो भागलाई सैद्धान्तिक खण्ड र वंशावली खण्ड गरी विभक्त गरिएको छ । सैद्धान्तिक खण्डमा वंशावलीको सम्बन्धमा चर्चा गरिएको छ ।

घिमिरेहरुको गोत्र, प्रवर कुलायन परम्पराका विषयमा उल्लेख गरिएको छ । यसैगरी मस्टो देवताका सम्बन्धमा खोजमुलक आलेख राखिएको छ । घिमिरेका थरका सम्बन्धमा गरिएको खोज समावेश गरिएको छ । यसैगरी गोरखाको मकैसिङमा घिमिरेहरु कसरी आए, मकैसिङमा आएका घिमिरेहरुले समाजमा के कस्ता योगदान पुर्याए, उनीहरूको कुलायन पूजा के कसरी हुने गरेको छ ? दगायत मकैसिङबाट छुट्टिएर आरुपोखरी गएका घिमिरेहरुको समेत खोजपूर्ण विश्लेषण गरिएको छ ।

वंशावली खण्डमा घिमिरेहरुको मूल पुर्खाहरुको वंशको विवरण दिइएको छ भने मकैसिङमा लमजुङबाट आएका घिमिरेहरुको पुस्तौली र पितापुर्खाको उल्लेख गरी त्यसपछिका घिमिरेहरुको पितापुर्खाको विवरण राखिएको छ ।

उक्त वंशावलीमा अन्वेषक घिमिरेले परम्परागत वंशावली लेखन र प्रकाशनको पद्धतिलाई मात्रै नअँगालिई मातृशक्तिको महत्तालाई बोध गरी उनीहरूलाई समेत सम्मान गर्दै छोरी-बुहारीलाई समेत वंशावलीमा समेट्नु भएको छ ।

‘वंशावली भन्नेबित्तिकै हाम्रो समाजले पुरुषको मात्रै आधिपत्य रहेको र उनीहरूकै अर्को पुरुष सन्तानको पुस्तान्तरण ठान्ने गरेको महसुस भइरहेको सन्दर्भमा केही वंशावली लेखन र प्रकाशन गर्ने संस्था तथा अनुसन्धानकर्ताले महिलालाई पनि पुरुषसरहकै स्थान दिन थालेको सन्दर्भमा मैले यस वंशावलीमा बुहारीहरूको पूर्व थर र छोरी विवाहित छोरीचेलीहरूको हकमा पनि यथासम्भव बिहेपछिको थर उल्लेख गरी समावेश गर्ने प्रयास गरेको छु ।’ घिमिरेले भन्नुभयो ।

Facebook Comments