Sun. Oct 27th, 2024

उपराष्ट्रपति यादवसँग होली सीका राजदूतको शिष्टाचार भेट   

काठमाण्डू, २०८१ साउन ३१ गते बिहीबार । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि होली सी/भेटिकन सिटीका राजदूत आर्कबिशप लियोपोल्डो जिरेलीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा शुभकामना आदानप्रदानपश्चात नेपाल र होली सीबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्ती उल्लेख छ ।

उपराष्ट्रपति यादवले सन् १९८३ मा दुई मुलुकबीच कूटनीतिकसम्बन्ध स्थापना भएपश्चात् रही आएको मैत्रीपूर्ण सम्बन्धप्रति खुशी व्यक्त गर्नुभएको थियो । “नेपाल र होली सी दुवै विश्व शान्ति, सहिष्णुता तथा बृहत मानव कल्याणका मान्यतामा अटल विश्वास राख्ने मुलुक हुन्,” उहाँले भन्नुभयो, “शान्तिका अग्रदूत भगवान् बुद्धले दिनुभएको शान्ति सन्देश विश्व सामु पुर्‍याउन नेपालले सरोकारवालासँग हातेमालो गर्दै आएको छ ।”

राजदूत आर्कबिशप लियोपोल्डो जिरेलीले नेपाल र होली सी दुवै मुलुकको शान्ति, सहअस्तित्व र भ्रातृत्व साझा मूल्यमान्यता रहेको उल्लेख गर्दै दुवै देश मानव अस्तित्वलाई सम्मान गर्दै आएको बताउनुभयो । “मलाई नेपालको वातावरण असाध्यै मन पर्छ,” उहाँले भन्नुभयो, “नेपालको हिमाल तथा पर्वत शृङ्खला विश्वका थुप्रै पर्यटकलाई आकर्षणको केन्द्र हुन् ।”

Facebook Comments