Mon. Dec 23rd, 2024

गाजा युद्धविराम ‘अब’ आवश्यक छ-इयु प्रमुख   

ब्रसेल्स, २०८१ साउन २५ गते शुक्रबार । युरोपेली सङ्घ (इयु) का प्रमुख उर्सुला भोन डेर लेनले शुक्रबार गाजामा तत्काल युद्धविराम आवश्यक भएको बताउनुभएको छ । यसबाट इजरायल र हमासबीच युद्धविराम सम्झौताका लागि अन्तर्राष्ट्रिय दबाब बढेको छ ।

“हामीलाई अब गाजामा युद्धविराम आवश्यक छ, जीवन बचाउने, शान्तिको आशा पुनःस्थापित गर्ने र बन्धकहरूको फिर्ती सुनिश्चित गर्ने यही एक मात्र तरिका हो”, सामाजिक सञ्जाल एक्समा उहाँले लख्नुभएको छ, “त्यसैले यस क्षेत्रमा आवश्यक शान्ति र स्थिरता हासिल गर्न अमेरिका, इजिप्ट र कतारको नेतृत्वमा गरिएका प्रयासहरूलाई म दृढतापूर्वक समर्थन गर्दछु ।”

युद्धले क्षेत्रीय तनाव बढेपछि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले बिहीबार अमेरिका, कतार र इजिप्टको मध्यस्थकर्ताहरूको मागमा अगस्ट १५ मा गाजा युद्धविराम वार्ता पुनः सुरु गर्न सहमत भएको बताएको थियो ।

नोभेम्बरमा एक साता लामो युद्धविरामपछि अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूले इजरायलमा अक्टोबर ७ मा हमासको अभूतपूर्व आक्रमणबाट सुरु भएको १० महिना लामो युद्धमा दोस्रो युद्धविराम सुनिश्चित गर्ने प्रयास गरेका छन् ।

बिहीबार संयुक्त विज्ञप्तिमा तीन मुलुकका नेताहरूले युद्धरत पक्षहरूलाई अगस्ट १५ मा दोहा वा कायरोमा वार्ता पुनः सुरु गर्न आमन्त्रण गरेका छन् ।  एएफपी

Facebook Comments