Thu. Apr 10th, 2025 06:54:58

न्याय मरेको देशमा राजा वीरेन्द्र र उहाँका परिवारले न्याय कहिले पाउँने ?

काठमाडौं, २०७७ जेठ १९ गते सोमबार

राजा वीरेन्द्रको वंश विनाश अर्थात नारायणहिटी दरबार हत्याकाण्ड भएको १९ वर्ष पूरा भएको छ।

२०५८ जेठ १९ शुक्रबार राति तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको वंशनाश भएको थियो। नेपालको इतिहासमा यसलाई अत्यन्त कहालीलाग्दो घटनाका रूपमा लिइन्छ। नियमित पारिवारिक जमघटका क्रममा तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जनाको हत्या भएको थियो। घटनामा राजा वीरेन्द्रसँगै रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुति मारिएका थिए। यस्तै अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो। कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए।

तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रले हत्या गरेको प्रतिवेदन पेश गरेको थियो। तर त्यस प्रतिवेदनलाई नेपाली जनताले ठाडै अस्विकार गरे । जनतामाझ अत्यन्त लोकप्रीय राजा वीरेन्द्र र उनका परिवारको हत्या भएको १९ वर्ष पुरा भए पनि उनीहरुले न्याय पाउन सकेका छैनन् ।

राजदरवार हत्याकाण्डपछि मानवअधिकार, प्रजातन्त्र, सामाजिक न्याय र समानताको नारा लगाएर सत्तामा पुग्ने थुप्रै नेताले राजदरवार हत्याकाण्डको छानवीन गरी देषीलाई कारवाही गर्ने कसम वारम्वार खाए पनि वीरेन्द्रको परिवारले आजसम्म न्याय पाएको छैन । अव त यस्तो लाग्छ राजा वीरेन्द्रको परिवारले कहिल्यै न्याय पाउने छैनन् । दरवार हत्याकाण्डका दोषीलाई कहिल्यै कारवाही गरिने छैन । किनकी यो न्याय मरेको देश हो ।

दरवार हत्याकाण्डमा ज्यान गुमाउने राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुती लगायत सो हत्याकाण्डमा ज्यान गुमाउने राजपरिवारका अन्य सदस्य र सर्वसाधारण सवैमा हार्दिक श्रद्धाञ्जली ।

Facebook Comments