Sun. Sep 8th, 2024

लाओसमा ब्लिन्केन र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, छलफल ‘फलदायी’ भएको अमेरिकाको भनाइ   

भिएन्टाइन, लाओस, २०८१ साउन १२ गते शनिबार । चीनका विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच शनिबार लाओसमा भएको भेटवार्ता ‘खुला र फलदायी’ भएको अमेरिकी स्रोतले जनाएको छ ।

दक्षिण चीन सागरलगायत पैचिङको बढ्दो आक्रामकता र मस्कोसँगको गहिरो सम्बन्धलाई मध्यनजर गर्दै क्षेत्रीय सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले गरिएको बहुदेशीय एसिया भ्रमणको एक हिस्साका रूपमा ब्लिन्केन लाओस आउनुभएको हो ।

दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का विदेशमन्त्रीहरूको बैठकका क्रममा चिनियाँ र अमेरिकी कुटनीतित्रबीच एक घण्टा २० मिनेट लामो वार्ता भएको अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले जानकारी दिए ।

चीनको विदेश मन्त्रालयले भने बैठकबारे कुनै विज्ञप्ति जारी गरेको छैन ।

बैठकहुनुभन्दा केही समयअघि ब्लिन्केनले चीन र फिलिपिन्सबीच क्षेत्रीय विवाद रहेको दक्षिण चीन सागरमा पैचिङको ‘बढ्दो गतिविधि’को आलोचना गर्नुभएको थियो ।

वार्षिक खर्बौँ डलरको व्यापार हुने जलमार्गको कुनै कानुनी आधार नभएको अन्तर्राष्ट्रिय अदालतको फैसलाका बावजुद पैचिङले यो जलमार्गलाई लगभग पूरै दाबी गर्दै आएको छ ।

चीन र रूसका विदेशमन्त्रीले १० राष्ट्रको आसियान समूह र एकअर्कासँग भेटवार्ता गरेको दुई दिनपछि ब्लिन्केन लाओस आइपुगेका हुन् ।

मस्कोको विदेश मन्त्रालयका अनुसार वाङले बिहीबार रुसका विदेशमन्त्री सर्गेई लाभरोभसँग भियन्टाएनमा भेटवार्ता गर्नुभएको थियो ।

दक्षिणपूर्वी एसियाली मामिलामा हस्तक्षेप गर्ने अतिरिक्त क्षेत्रीय शक्तिको कुनै पनि प्रयासको संयुक्त रूपमा प्रतिवाद गर्न पनि चीन र रूस सहमत भएका छन् ।

रूससँग चीनको बलियो राजनीतिक र आर्थिक साझेदारी छ, केही नेटो सदस्य राष्ट्रहरूले पैचिङलाई युक्रेनको युद्धमा मस्कोको संलग्नताको ‘प्रमुख सहजकर्ता’ को रूपमा आरोपित गरेका छन् ।  एएफपी

Facebook Comments